कहाँकहाँ छ चीनसँग सीमा विवाद ?



काठमाडौं : नेपाल–भारत सीमामा सँधै किचलो हुन्छ। सीमा मिचिएका समाचार वर्षैभरी आइरहन्छन्। चीनसँगको सीमाबारे झैझगडाको त्यस्तो खबर सुनिँदैन। यद्यपि उत्तरतर्फको सीमा पनि विवादरहित भने छैन। नेपाल–चीन सीमाका केही ठाउँमा विवाद छन् भने झण्डै आधा दर्जन सीमा स्तम्भ बेपत्ता भएका छन्। सगरमाथाको उचाइबारे पनि एकमत छैन।

नेपाल–चीन सीमाको लम्बाइ १ हजार ४ सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन्। तीमध्ये ३७, ३८, र ६२ नम्बरका स्तम्भ हराएका छन् भने ५७ नम्बरमा विवाद छ। 

३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम खोलामा पर्छ। त्यहाँ १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन।

ठूलो समस्या चाहिँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ। सन् १९७८ सीमांकन गर्न जाँदा उक्त स्तम्भ नभेटिएको सीमाविद् पूण्यप्रसाद ओलीले बताए।

‘कोर्लाङपारिको टुप्पोमा पिलर भेटिएन। नेपाल चीन सन्धीअनुसार टुप्पो हेरियो तर यहाँ थिएन,’ त्यसबेला एरियल फोटोग्राफीबाट सीमांकन गर्न खटिएका ओलीले भने। उनी नापी विभागका पूर्वमहानिर्देशक पनि हुन्।

प्राविधिककै कमजोरीका कारण त्यो स्तम्भ फेदमा गाडिएको नापी विभाग स्रोत बताउँछ। पहाडको टुप्पामा जान धेरै समय लाग्ने र जोखिम पनि भएकाले प्राविधिकले फेदमा गाडेर फर्केको कारण समस्या आएको हो।

हुनुपर्ने स्थानमा स्तम्भ नगाडिँदा उक्त भूभाग दाबी गर्ने आधार चीनले पाएको छ। त्यस्तै कोरला नाकामा लामो समयदेखि विवाद थियो। सन् २०१६ मा तारबार लगाएर उक्त नाकाको विवाद सल्ट्याइएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्