बेल्जियम बन्यो हक्कीको नयाँ विश्वविजेता



नयाँदिल्ली: कुनै समय इंग्ल्यान्ड, भारत र पाकिस्तानको दबदबा हुने गरेको हक्की खेलले अहिले नयाँ विश्वविजेता पाएको छ। यसै साता भारतको उडिसामा सम्पन्न पुरुष हक्की विश्वकपको उपाधि युरोपेली राष्ट्र बेल्जियमले जितेको छ ।

 

बेल्जियमले पहिलोपटक हक्कीको विश्वकप उपाधि जितेको हो। योसँगै हक्कीको विश्वकप जित्ने बेल्जियम छैठौं राष्ट्रसमेत बनेको छ। ओलम्पिकमा रजत पदक जितेका बेल्जियमले विश्वकपमा पहिलोपटक यति ठूलो सफलता हात पारेको हो । प्रतियोगिताअन्तर्गत गत आइतबार भएको फाइनल खेलमा बेल्जियमले तीन पटकको च्याम्पियन नेदरल्यान्ड्सलाई सडन डेथमा ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

 

बेल्जियमले पहिलोपटक उपाधि चुम्दा छिमेकी राष्ट्र नेदरल्यान्ड्स भने लगालग दोस्रोपटक फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक सन् २०१४ मा भएको फाइनलमा पनि नेदरल्यान्ड्सलाई अस्ट्रेलियाले पराजित गर्दै उपविजेतामा सीमित पारेको थियो ।

 

तीन पटकको च्याम्पियन र पछिल्लोपटकको उपविजेता नेदरल्यान्ड्स र रियो ओलम्पिकको रजत पदक विजेता बेल्जियमबीच भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा टुंगिएको थियो। दुवै टोली चारवटै क्वार्टरको समाप्तिपश्चात् पनि गोलविहीन नै थिए। त्यसपछि खेल विजेताको निर्णयका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो । जसमा दुवै टोलीको पाँचमध्ये समान दुई–दुई प्रहार गोलमा परिणत भएको थियो ।

 

त्यसपछि भने खेलको निर्णय सडनडेथसम्म लम्बिएको थियो। जसमा बेल्जियमका फ्लोरों भेन एबलले डच गोलरक्षकलाई छकाउँदै गोल गर्न सफल बने। तर, अर्कोतिर नेदरल्यान्ड्सका जिरोन हट्र्जबर्गर भने गोल गर्न असफल रहे। योसँगै बेल्जियमले पहिलोपटक हक्की विश्वकप ट्रफीमा आफ्नो नाम लेखाए। विश्वकपको इतिहासमा फाइनल प्रतिस्पर्धा निर्धारित समयभित्र गोलविहीन टुंगिनुका साथै सडनडेथमा विजेताको निर्णय भएको यो नै पहिलो घटनासमेत बन्यो ।

 

खेलमा दुवै टोलीले पहिलो क्वार्टरमा उत्कृष्ट खेल पस्केका थिए। नेदरल्यान्ड्स तथा बेल्जियमका खेलाडीहरूले तालमेलपूर्ण खेलको राम्रो नमुना प्रस्तुत गर्दै डिफेन्स पनि कसिलो बनाएका थिए। दोस्रो क्वार्टरमा भने तुलनात्मकरूपमा नेदरल्यान्ड्सको वजन भारी देखिएको थियो। नेदरल्यान्ड्सले दुवै विन्गबाट विपक्षी टिमका डिफेन्समाथि दबाब सिर्जना गरेका थिए। नेदरल्यान्ड्सले पहिलो क्वार्टर समाप्त हुनुभन्दा केही मिनेटअघि पेनाल्टी कर्नर प्राप्त गरे पनि गोलमा बदल्न चुकेका थिए ।

 

नेदरल्यान्ड्सले तेस्रो क्वार्टरमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। तर, गोल गर्ने थुप्रै अवसरमा बेल्जियमका गोलरक्षक बाधक बनेका थिए। बेल्जियमले चौथो क्वार्टरमा उत्कृष्ट खेल पस्कँदै काउन्टर अट्याकमा जोड दिएको थियो। तर, गोलको खाता भने खोल्न सकेन ।

 

जसका कारण खेल पेनाल्टी सुटआउटसम्म चल्यो। जसमा एक समय नेदरल्यान्ड्सले २–१ को अग्रता बनाइसकेको थियो। तर, अन्ततः बेल्जियम २–२ गोलको बराबरी गर्न सफल भयो। सडनडेथमा बेल्जियमको पहिलो प्रहारमा नै गोलमा परिणत हुँदा नेदरल्यान्ड्सका खेलाडी भने चुकेका थिए । बेल्जियमसँग हार्नुअघि नेदरल्यान्ड्सले सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै गत फाइनलमा बेहोरेको हारको बदला भने लिएका थिए। भुवनेश्वरको कलिंगा स्टेडियममा भएको सेमिफाइनलमा नेदरल्यान्ड्सले अस्ट्रेलियालाई पनि सडनडेथमा नै हराउँदै फाइनलको यात्रा तय गरेका थिए। तर, त्यसको एक दिनपछि नै भएको फाइनलमा नेदरल्यान्ड्स पनि बेल्जियमसँग सडनडेथमा नै पराजित हुँदै उपविजेतामा सीमित बन्न पुग्यो ।

 

यसै गरी बेल्जियमले भने सेमिफाइनलमा इंग्ल्यान्डको चुनौती पाएको थियो। इंग्ल्यान्डलाई हराउँदै बेल्जियम हक्की विश्वकपकै इतिहासमा पहिलोपटक फाइनलमा पुगेको थियो। बेल्जियमले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६–० गोलअन्तरले हराएको थियो।

 

उक्त सेमिफाइनल खेलभन्दा एक दिनअघि बेल्जियमका खेलाडी सिमोन गोगनार्डका पिताको निधन भएको थियो। जसका कारण उक्त म्याचमा बेल्जियमका खेलाडीले हातमा कालोपट्टी बाँधेर खेलेका थिए । फाइनलमा बेहोरेको हारसँगै नेदरल्यान्ड्स पाकिस्तानसँगै सर्वाधिक चारपटक हक्की विश्वकपको उपाधि जित्ने कीर्तिमानसँग बराबरी गर्नबाट चुक्यो। नेदरल्यान्ड्स लगालग दोस्रोपटक फाइनलमा पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्