सामुहिकरुपमा व्यावसायिक मेवा खेती



राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकाका तीन कृषकले संयुक्तरुपमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् ।

रोपेको आठ महीनामै मेवा बिक्रीका लागि तयार हुने भएपछि यहाँ सामूहिकरुपमा मेवा खेती गरिएको हो । एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायिकरुपमा यो खेती शुरु गरिएको स्थानीय कृषक पीताम्बर कर्णले बताए ।

व्यावसायिकरुपमा यो खेती गर्न फाइदाजनक हुने भएकाले उक्त नगरपालिकाका निवासी पीताम्बर कर्ण र दीपक गुप्ता तथा अनिल प्रधानले पाँच बिघा जमीनमा अहिले करीब दुई हजार ५ सय मेवाको बोट लगाएका हुन् । करीब रु २० लाखको संयुक्त लगानीमा प्राङ्गारिक मल हालेर खेती शुरु गरिएकाले उत्पादन पूर्णरुपमा प्राङ्गारिक हुने र मेवा पनि स्वास्थ्यका लागि फाइदाजनक हुने उनीहरूको भनाइ थियो । पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको कृषक कर्णले बताए । सोे मेवा खेतीसँगै एक बिघा जमीनमा करीब १५ हजार बोट सयपत्री (गैन्दा)फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडको खेती मेत गरिएको छ ।

प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको हुनाले आफूहरुले यो खेती गरेको कृषक कर्णले बताए । नेपालमा भारतीय मेवाले ९५ प्रतिशत बजार ओगटेको छ । भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले पनि यो खेती आवश्यक रहेको कृषक कर्णको भनाइ थियो । केही दिन अगाडि प्रदेश २ का भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले सो मेवा खेती अवलोकन गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्