भ्रष्टाचारमा तानिए अर्का पनि जर्नेल, भर्नामा घुस खाँदा तनावमा परे कर्णेल



काठमाडौं : निजगढ–काठमाडौं द्रूतमार्ग (फास्टट्रयाक) निर्माण गर्दा भ्रष्टाचार भएको ठहर सैन्य मुख्यालयले छानविन गर्ने भनेपछि त्यसमा मुछिएका पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणले तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नाम मुछेपछि क्षेत्री यसअघि नै अमेरिका भासिएका छन् ।

क्षेत्री अमेरिका भासिएपछि यता पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँण अहिले बयान दिनैमा व्यस्त छन् । जर्नेल खाँणले बयान दिदै गर्दा त्यसप्रकरणमा मुछिने अरु पनि तानिने क्रम जारी छ । यस प्रकरणमा अर्का जर्नेल शरद्लाल श्रेष्ठ पनि तानिन पुगेका छन् । उनको ठाउँमा अहिले कर्णेल विकास पोखरेल खटिएको रक्षा स्रोतले जनाएको छ । अहिले तानिएका जर्नेल श्रेष्ठलाई जेठ २० गते योगेन्द्र खाँणले बरबुझारथ गरेका थिए ।

यसरी फास्टट्रयाक, विकास निर्माण, हवाई सेवातर्फ अनियमितताबारे व्यापक कुरा उठेको, ठेकेदार र सैनिक अधिकारीबीचमै मिलेमतोका उजुरी बढेपछि त्यहाँका पुराना टेण्डर रद्द गरिएका छन् । अहिले धमाधम पुराना ठेकेदारका बाँकी–बक्यौता फस्र्यौट गर्दै बिदा दिने क्रम चलेको छ । र, ती ठेकेदारले गरेका काम जहाँ पुगेको थियो, त्यहीँ रोकेर तिनै कामका लागि पुनःटेण्डर खोलिएको छ ।

त्यस्तै, आर्थिक अनियमितताका विषयमा समय–समयमा कुरा उठ्ने सर्भिस सपोर्ट युनिटमा पनि सुधार ल्याउने गरी जंगी अड्डा अगाडी बढेको जनाइएको छ । यता भर्ना छनोटमा अनियमितता गरेको आरोपमा चार जना सेना र २३ बिचालिया सहति २७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

गत साउन १९ गते प्रकाशित विज्ञापन अनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि उनीहरुमाथि कारबाही अघि बढाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

सेनाको भर्ना केन्द्र उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं= ५ बाहिनी अड्डा कैलाली भर्नाकेन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई निगरानीमा राखी अनुसन्धान गरिएको हो । सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको र अन्यको खोजी भइरहेको सेनाको भनाइ छ ।

त्यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन गएका चार जना पक्राउ गरिएको छ भने उनीहरुको वास्तविक उम्मेदवारहरुको खोजी भइरहेको पनि सेनाले जनाएको छ । अन्य तीन भर्नाकेन्द्रमा चार जनालाई आर्थिक लेनदेनको आशंकामा पक्राउ गरिएको सेनाले जनाएको छ । प्रधानसेनापति बनेपछि पूर्णचन्द्र थापाले भर्ना छनोट प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउने बताउँदै आएका छन् । गत वर्ष पनि यस्तो अनियमिततामा संलग्न ७० भन्दा धेरैलाई कारबाही गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्