रमण आउट हुँदा बन्दी वा ढुंगेलको चान्स !



काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पधाधिकारीहरु राजनीतिक दलबीच सहमती जुट्न नसक्दा अझै पदपुर्ति हुन सकेको छैन । त्यस्तै दुवै आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको सिफारिस समितिले पनि पदाधिकारीका लागि नामावली सिफारिस गर्न सकेको छैन ।

सिफारिस समितिले पटकपटक प्रयास गरे पनि राजनीतिक दलकै विवादका कारण सिफारिस हुन नसकेको हो । यद्यपि राजनीतिक दलहरुले सहमती जुटाउने प्रयास भने जारी नै राखेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले समेत विशेष चासोका साथ लिएको सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष लगायतका पदाधिकारीमा कसलाई लैजाने भन्ने विषय पेचिलो बन्दै गएको छ । जसले गर्दा आयोग पदाधिकारी विहिन बन्न पुगेको छ ।

सिफारिस समितिको गत ४ भदौमा बसेको बैठकले पूर्वमहान्यायाधिवक्ता एवं मेलमिलाप आयोगका पूर्वअध्यक्ष रमण श्रेष्ठलाई नै अध्यक्ष बनाउने सहमती नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको थियो । तत्कालिन प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । तत्कालिन समयमा नेकपा माओवादी र नेकपाली कांग्रेसको संयुक्त सरकारमा प्रचण्ड पछि प्रधानमन्त्री बनेका देउवाले समेत श्रेष्ठलाई महान्यायाधिवक्तामा कायमै राखेका थिए ।

त्यसैले श्रेष्ठका नाममा प्रचण्ड र देउवा समहत भएका थिए । त्यसबेला प्रचण्ड र देउवाले प्रस्ताव गरेको नाममा सहमत जनाएता पनि प्रधानमन्त्री ओलीले भित्रैदेखि श्रेष्ठलाई रुचाएका थिएनन् । समस्या समाधान एवं निकासका लागि देउवा र प्रचण्डको सहमतीलाई ओलीले स्वीकार गरेका थिए । तर, श्रेष्ठको नाम सिफरिस हुन लागेपछि द्वन्द्व पीडित र मानव अधिकार आयोगले श्रेष्ठका नाममा गम्भिर असहमती जनाएको बताइन्छ । समय घर्कदै जाँदा श्रेष्ठ आयोगको अध्यक्षको रिङबाट आउट भएका छन् । श्रेष्ठले आफूले भनेको पनि मान्न नसक्ने आकलनकमा साथ प्रचण्डले श्रेष्ठका नाममा धेरै अडान नलिएको बताइन्छ ।

श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउन नहुनेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्का नेता एवम् महान्यायाधिवक्ता अग्नि खरेल, नेपाल लयर्स एशोसिएशनको पनि भित्रदेखि विरोध रहेको छ ।

एशोसिएशनका महासचिव बनेका दीनमणि पोखरेलले श्रेष्ठको नाममा भित्रभित्रै असहमति जनाएका थिए ।

चारैतिबाट विरोध हुन थालेपछि श्रेष्ठले पनि आयोगको अध्यक्षमा आफ्नो रुची नरहेको बताउन थालेका छन् । वकालत पेशाबाटै भइरहेको लाखौं आम्दानी छाडेर आयोगको अध्यक्ष बन्ने कि नबन्ने भन्ने दोधारमा श्रेष्ठ रहेका थिए । आयोग अध्यक्ष हुन नसक्ने भएपछि श्रेष्ठ नेपाल वार एशोसिएशनको आउँदो निर्वाचन पछि अध्यक्ष बन्ने ध्याउन्नमा लागेका छन् ।

श्रेष्ठको नाम अध्यक्षबाट हटेपछि आयोगको अध्यक्षमा अधिवक्ताद्वय गोविन्द बन्दी र सूर्य ढुंगेलमध्ये एक हुन सक्ने चर्चा व्यापक बनेको छ । यससँगै सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशबाट ल्याउने चर्चा पनि चलिरहेको छ । त्यसोत यसअघि पनि बन्दी र ढुंगेलको नाम छलफलमा आएका थिए । त्यसबेला बन्दीका नाममा नेपाली कांग्रेसले र ढुंगेलका नाममा नेकपाले असहमति जनाएका थिए । अहिले फेरी उनीहरुको नाम चर्चामा आएको छ ।

गत मंगलबार आयोगको रिक्त पदाधिकारी नियुक्तिका लागि बसेको शीर्ष नेताको बैठकमा सहमती जुटन नसक्दा सहमतीका लागि नेतालाई जिम्मेवारी दिइएको छ ।

सहमती खोज्नका लागि सत्तारुढ दलबाट नेकपाबाट सुवासचन्द्र नेम्वाङ र वर्षमान पुन तथा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ । चार नेताले दुवै आयोगका पदपाधिकारी नियुक्तिमा सहमतीका साथै यससंग सम्बन्धित ऐन संशोधनको जिम्मेवारी समेत दिइएको स्रोतले जनाएको छ ।

बेपत्ता छानबिन आयोगको अध्यक्षमा अहिलेकै अध्यक्ष सूर्यकिरण गुरुङलाई कांग्रेसको प्रस्तावमा निरन्तरता दिने सहमती भइसकेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गत चैतबाट पदाधिकारीविहीन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्