लिच्छविकालीन शिवलिंग संग्रहालयमै अलपत्र



काठमाडौं : राष्ट्रिय संग्रहालयको बाहिरपट्टि एउटा प्राचीन शिवलिंग बेवारिसे छ । संग्रहालय क्यान्टिनको दक्षिणतिर रहेको लिच्छविकालीन यो शिवलिंग अचेल क्याटिनका कामदारको घाम तापेर बस्ने थलो भएको छ ।

‘यो मूर्ति देख्दा बैराग लाग्छ,’ शिवलिंग खोज्दै संग्रहालय पुगेको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘भगवानको पनि मृत्यु हुँदो रहेछ भनेजस्तो अनुभूति हुन्छ ।’

इन्द्रचोक छेउको मासन गल्लीमा १० वर्षअघि भेटिएको थियो शिवलिंग । तीन महिनाभित्र प्रतिस्थापन गराउने निर्णय त्यतिबेलै भएको थियो । तर १० वर्ष बित्दासमेत उक्त कार्य सम्पन्न भएको छैन । टोलमा सुजाता शाक्यलगायतको घरको जग खन्ने क्रममा यो भेटिएको थियो ।

प्राचीन बस्तीमा एकै ठाउँमा झुरुप्प घर हुन्छन् । ती घरको सार्वजनिक चोक हुन्छन् । त्यही चोकमा रहेको मन्दिर कोही बेला मिचेर घर बनाएको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् ।

‘एकै जनाले घर किने । घर किन्दा त्यो चोक पनि कब्जा गरे,’ तुलाधर भन्छन्, ‘त्यही भएर चोकको यो मूर्ति पुरियो । पछि त्यही चोक मासेर व्यापारिक कम्पलेक्स बनाइयो । त्यही कम्लेक्स बनाउने जग खन्ने क्रममा मूर्ति भेटियो ।’

जमिनबाट ७ फिट तल खन्दा मूर्ति भेटिएको थियो । भेटिएको मूर्तिलाई व्यवस्थापन गर्न स्थानीयबासीले लामो समय पहल गरेका थिए । मूर्तिलाई त्यही ठाउँमा राख्ने स्थनीयबासी चक्रधर तुलाधर धेरै लागि परेका थिए । मूर्ति राख्ने सपना पूरा नहुँदै उनी परलोक भइसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्