खाद्यवस्तु बरामद



रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज भैरहवा बजार अनुगमन गरेको छ । किराना पसल, खाद्यान्न, होटल तथा मिठाइ पसल अनुुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु बरामद गरिएको अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए।

वडा नं ५ मा रहेको शुभलाभ किराना स्टोर्समा सबैभन्दा बढी म्याद सकिएका खाद्यवस्तु पाइएको समितिले जनाएको छ । शुभलाभमा म्याद सकिएका घ्यू, गुल्कोज, चक्रतेल, बिस्कुट, कन्फेल्क्स, बालबिटा, कन्प्लेक, फेन्टा, हर्बल, भोलालगायतका सामग्री बरामद गरिएको छ । उक्त स्टोर्समा मात्रै २० हजार बढीको आखाद्यवस्तु बरामद गरिएको अनुगमन समितिले जनाएको छ ।

वडा नं ६ मा रहेको कृति किराना पसलबाट नमकिन, मस्यौरा, भुजीया बरामद गरिएको हो । सोही वडामा रहेको विरेन जनरल स्टोरबाट फेसवास, बोडी लोसन लगायतका सामग्री बरामद गरिएको छ । यस्तै वडा नं ५ मा रहेको अमन किराना पसल, आनन्द किराना स्टोर्सलाई मूल्यसूची राख्न सचेत गराइएको छ । अशोक जनरल स्टोर्सलाई खरीद बिक्री बिल लिनेदिने गर्न सचेत गराइएको छ ।

सुरज एण्ड कृष्ण किराना पसललाई नवीकरण गरी मूल्यसूची राख्न निर्देशन गरिएको अनुगमन समिति सदस्य एवं उपभोक्ता मञ्च नेपालका कार्यवाहक अध्यक्ष भगवती भण्डारीले जानकारी दिए । वडा नं ६ मा रहेको चिया पसल र विशाल मिष्ठान भण्डारलाई सरसफाइमा ध्यान दिन, भान्साकोठा सफासुग्घर राख्न सचेत गराइएको छ ।

चिया पसलका सञ्चालकलाई १५ दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ । नगरपालिकाले म्याद सकिएका सामग्री बिक्री वितरण नगर्न, मूल्यसूची प्रष्ट ग्राहकले देख्नेगरी राख्न, पसल नवीकरण गर्न र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । अनुगमनमा नगरपालिका, जिल्ला प्रशासन वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग व्यापार सङ्गठन, सिद्धार्थ उद्योेग वाणिज्य सङ्घ र नेपाल प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्