चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै विरोध



भरतपुर : चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो ।

भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए । उनीहरुले लगेको मौरी स्थानीय १५० गोला मौरी देखाउँदै वडाध्यक्ष र स्थानीय प्रशासनले जबर्जस्ती फिर्ता पठाइदिएको नेपाल किसान सङ्घले जनाएको छ ।

भरतपुरका किसानले विसं २०७२ देखि चरिचरन गर्दै आएको सो ठाउँमा स्थानीय सरकारले बाहिरको मौरी रोक लगाउनु अव्यवहारिक र घृणित कार्य भएको सङ्घका अध्यक्ष टङ्कनाथ पौडेलले बताए । नेपाल सरकारले जारी गरेको मौरी प्रवद्र्धन नीति २०७३ अनुसार नेपालको जुनसूकै ठाउँमा बिना रोकतोक मौरी चरनका लागि लैजान पाउने नैसर्गिक अधिकार लत्याउने काम भएको पौडेलको आरोप छ ।

सो क्षेत्रमा कम्तीमा हजार गोलाभन्दा बढी फूल फुल्ने समयमा मौरी राख्न सकिने अवस्था रहेको सङ्घले जनाएको छ । खेर गइरहेको फूलको रस मौरीमार्फत सङ्कलन गर्ने ऊर्जाशील किसानलाई स्थानीय सरकारले प्रशासनको आडमा हतोत्साही गर्ने काम गरेको पौडेलले बताए । सङ्घले यस्ता घटना फेरि नदोहो¥याउन आग्रह गर्दै जस्तोसूकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

मौरीपालनका लागि अग्रणी जिल्लाको रूपमा रहेको चितवनका किसानले देशका विभिन्न स्थानमा मौरी चरनका लागि लैजाने गरेका छन् । व्यावसायिकरूपमा मह उत्पादन गर्नका लागि नेपालको भूबनोटअनुसार फरक–फरक समयमा फूल फुल्ने र सो स्थानमा त्यही समयमा मौरी स्थानान्तरण गर्ने गरिएको छ । चितवनमा आठ हजार गोला मौरी र आठ हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्