निर्मला हत्या प्रकरण : नेविसंघद्वारा कञ्चनपुर बन्द 



कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकि १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द आह्वान गरेको छ । महेन्द्रनगर बजारसँगै यातायात पूर्ण रुपमा बन्द गरिएको छ ।

 

यातायात र बजार बन्द गराउन नेविसंघका विद्यार्थीहरु बिहानैदेखि बजारमा छरिएका छन्। उनीहरुले राजमार्गको चोक–चोकमा टायर बालेर यातायात बन्द गराए। 

 

नेविसंघले सोमबार पनि जिल्लाका सम्पूर्ण शिक्षण संस्था बन्द गराएको थियो। साेमबारको बन्द सकिएपछि थप छलफल गरेर आन्दोलनका अन्य कार्यक्रम घोषणा गरिने केन्द्रिय सदस्य चन्दले बताए।

 

बन्दका कारण दशैं तिहारका लागि भारतका विभिन्न ठाउँबाट घर फर्किने यात्रुहरु अलपत्र परेका छन्। बजार क्षेत्रका साना खालका सवारी साधन समेत पूर्ण रुपमा बन्द गरिएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने झलारी बजार पनि पुर्ण रुपमा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्