शीतलहरले मधेसको जनजीवन कष्टकर



सिरहा: मौसम परिवर्तन र चिसो हावाका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेसका बजारमा चहलपहल कम हुन थालेको छ ।

 

खासगरी, विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरिब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइँठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताए । कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिई फाइदा उठाउने गरेका छन् ।

 

अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा. सुनील कुशवाहाले बताए । सरकारी अस्पतालमा बिरामीको उपचारमा बढी समय लाग्ने भएकाले निजी अस्पताल र क्लिनिकमा बिरामी जाने गरेका छन् । चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय र क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् ।

 

बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो खोलिने गरेको छ । साँझपख पनि चिसो झनै बढ्दा बजार साँझदेखि नै सुनसान हुने लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले बताए ।

 

कुहिरो र चिसोले जनजीवन कष्टकर बनाउने गरेको छ । पूर्वी तथा मध्य तराईका जिल्लामा दुई दिनदेखि चलेको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्नाले बढेको चिसोले सिरहालगायत प्रदेश–१ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश–२ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामा चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ ।

 

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालक हेडलाइट बाल्न बाध्य छन् । आज बिहान लहानको तापक्रम ११ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी भएको महसुस हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्