कर्णालीका १७ स्थानीय तह बैंकविहीन



सुर्खेत: नेपाल राष्ट्रबैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् ।

 

सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् ।

 

नेपाल राष्ट्रबैंकले तोकिएका स्थानमा आ–आफ्नो शाखा सञ्चालन गर्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै विभिन्न निजी बैंकलाई एक वर्षअघि नै निर्देशन दिएपनि कार्यान्वयन नहुँदा सेवाग्राहीलाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता कायमै छ ।

 

राष्ट्रबैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई ताकेता गरिरहेको बताए । “बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहेछ”, उनले भने, “हामीले पटकपटक ताकेता गर्दासमेत बैंकले सुरक्षा, विद्युत् र इन्टरनेटको समस्या देखाएका छन् ।”

 

निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गरे । “सरकारी कारोवारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएका छौँ”, उनले भने । राष्ट्रबैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छिट्टै प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्