पुनःनिर्माणमा स्थानीय तहसँग समन्वय भएन



ललितपुर: सम्पदा, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाको पुनःनिर्माणमा अझैसम्म स्थानीय तहसँग समन्वय भएको छैन । विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण शुरु हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । अहिले निर्वाचित भएर आएको लामो समय बित्दासमेत समन्वय हुननसकेको समबद्ध जनप्रतिनिधि बताउँछन् ।

 

स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष बित्दासमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकार बीच सहकार्य हुन नसक्दा स्थानीय तहले सार्वजनिक सम्पत्तिको पुनःनिर्माणको जानकारी नपाएको हो । महालक्ष्मी नगरपालिकाभित्र धेरै विद्यालय तथा स्वास्थ्यचौकी पुनःनिर्माण अहिले भइरहेको छ ।

 

पुनःनिर्माणका क्रममा समस्या पर्दा मात्रै आफूले जानकारी पाउने गरेको नगरप्रमुख रामेश्वर श्रेष्ठ बताउँछन् । प्राधिकरणले जिल्लामा रहेका विभिन्न कार्यालयको समन्वयमा काम गरिरहेको छ तर स्थानीय सरकार नै त्यस ठाउँको जानकार र जिम्मेवार भएकाले उनीहरूसंग सहकार्य गरेर मात्रै काम गर्नुपर्नेमा उहाँको जोड छ । जनप्रतिनिधि त्यही ठाउँमा बसेर काम गर्ने हुँदा काममा भएका सकारात्मक र नकारात्मक दुवै कुरा थाहा हुन्छ । नगरपालिका क्षेत्रमा भइरहेका कतिपय संरचनामा पुनःनिर्माणको क्रममा समस्या देखिएको छ ।

 

कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल स्याङतान आफ्नो गाउँपालिकामा गैरसरकारी संस्थाले गरिरहेका काममा धेरै कमी कमजोरी हँदा पनि कारवाही गर्न नसकिएको बताए । पुनःनिर्माण अहिले स्थानीय तहका लागि सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ । अहिलेसम्म स्थानीयस्तरमा भइरहेको पुनःनिर्माणमा समस्या आउँदा समाधानका लागि र सिफारिश वा निर्माण सम्पन्न भएपछि हस्तान्तरणका लागि मात्रै स्थानीय सरकारको खोजी हुने गरेको छ ।

 

साविक सङ्खु गाविसको स्वास्थ्यचौकी निर्माणका क्रममा विवाद हुँदा समाधानका लागि ठेकेदार र व्यवस्थापान समिति गाउँपालिका आएका थिए । गाउँपालिकाका अरु ठाउँमा भइरहेका विद्यालय, स्वास्थ्यचौकी वा अरु कुनै सामुदायिक भवन पुनःनिर्माणमा गाउँपालिकासँग समन्वय छैन । सार्वजनिक भवन वा निजी आवास निर्माणका क्रममा समस्या आउँदा स्थानीय तहले समाधानका लागि सिफारिश गर्छ ।

 

जिल्लाभरमा निजी आवास निर्माणमा भने जिल्लामा ग्रामीण क्षेत्रमा भन्दा नगर क्षेत्रमा पुनःनिर्माण अझै सुस्त छ । गुनासोपछि थप भएकासमेत गर्दा जिल्लाभरमा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० छ ।  

प्रतिक्रिया दिनुहोस्