जब राज्यमन्त्रीले उपेन्द्र यादवकाे आसन कब्जा गरे…



जनकपुरधाम : पार्टी पद्धति र राजनीतिक संस्कार अनुसरण नगर्दा राजनीतिकर्मी हाँसोको पात्र बन्नु कुनै नौलो भएन । यसको पछिल्लो उदाहरण बनेका छन् स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव । 

संघीय समाजवादी फोरम नेपालको जनकपुरधाममा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको दोस्रो दिन उनी मञ्चको केन्द्र भागमा आसन ग्रहण गर्न पुगे । उनी बसेको ठाउँमा अघिल्लो दिन पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टी अध्यक्षका रूपमा आसन ग्रहण गरेका थिए । 

कार्यक्रममा सहभागी नेताकार्यकर्ता दोस्रो दिन पनि अघिल्लो दिनकै सिट योजनाअनुसार आआफ्ना ठाउँमा बसेका थिए । कार्यक्रमको दोस्रो दिन स्वास्थ्य राज्यमन्त्री यादवलाई आसन ग्रहणका लागि ‘कल’ आएपछि उनी सोझै मञ्चको अघिल्लो पंक्तिको बीचभागमा बस्न पुगेका थिए । दोस्रो दिन पार्टी अध्यक्ष उपेन्द्र कार्यक्रममा थिएनन् । 

राज्यमन्त्री यादव पार्टीका नयाँ केन्द्रीय सदस्य हुन् । मञ्चको पहिलो लहरमा पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष रेणु यादव, महासचिव रामसहायप्रसाद यादवलगायतका पार्टी पदाधिकारी बसेका थिए भने त्यसपछिको पंक्तिमा राजनीतिक समिति सदस्य एवं प्रदेशमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेशमन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत थिए । मञ्चमा पार्टी पदाधिकारीहरू केन्द्रीय सदस्य रहेका राज्यमन्त्री यादवको दायाँबायाँ देखिएका थिए ।

पार्टी महासचिव रामसहाय यादवले सरकार र पार्टीको मर्यादाक्रम छुट्टाछुट्टै भएकाले यसमा ख्याल नगरिनु मर्यादा उल्लंघन गर्नु भएको बताए । कार्यक्रमको दोस्रो दिन राज्यमन्त्रीले आसनग्रहणमा देखाएको लापरबाही गम्भीर त्रुटि भएको उनले औंल्याए । तर पार्टी अझै बन्ने क्रममा रहेकाले यस्ता विषयप्रति गम्भीरता अपनाउँदै जाने उनले प्रस्ट्याए । ‘पार्टीमा सरकार हावी हुनुहँुदैन, यसमा सचेतता अपनाइनेछ,’ उनले भने ।

संसदीय चुनावअघि पार्टी प्रवेश गरेका राज्यमन्त्री यादव महोत्तरीबाट टिकट पाएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा चिकित्सकीय अभ्यास गर्दै जनकपुरमै निजी स्वास्थ्यसंस्था सञ्चालन गरिरहेका डा. यादवलाई संसदीय चुनावमा टिकट दिइनुलाई पनि आश्चर्यका साथ हेरिएको थियो ।

एमबिबिएस अध्ययन गरेका डा. यादवसँग राजनीतिक क्षेत्रमा काम गरेको अनुभव छैन । उनले आफ्ना नजिकका नातेदार र पूर्वसंविधानसभा सदस्य कौशल यादवलाई माथ दिँदै चुनावी प्रत्याशी बनेका थिए । कौशललाई भने प्रदेशसभा सदस्यको टिकट दिइएको थियो । कौशलले पनि चुनाव जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्