फिफा वरियता : नेपालको एक स्थान सुधार



काठमाडौं : विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार  जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो । अघिल्लो दुई महिनामा भने नेपाल एक–एक स्थान तल झरेको थियो । 

वरियताअनुसार दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत् छ भने माल्दिभ्स १५२औँ, भुटान १८६औँ, बङ्गलादेश १९२औँ र पाकिस्तान १९९औँ र श्रीलङ्का २०१औँ स्थानमा स्थानमा यथावत् छन् । 

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा फिफा विश्व कप, २०१८ विजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इङ्गल्यान्ड पाँचौँ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दसौँ स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्