जापानकाे प्रतिरक्षा बजेटमा भारी वृद्धि, चीनकाे आपत्ति



टोकियो : जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकु विमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो । 

अप्रिल २०१९ का लागि जापानले कुल ९ खर्ब १२ अर्ब डलरको बजेट तयार पारेकाे छ । यो बजेटलाई प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्ले शुक्रबार अनुमोदन गरेको छ । 

रक्षा मन्त्रालयका अधिकारीले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ । 

रक्षा अधिकारीहरुका अनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ जसमा छ वटा एफ–३५ए स्टील्थ लडाकू बिमानका साथै सामुद्रिक विशाल जहाजहरु रहेका छन् । 

जापानले हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको एएफपीले जनाएकाे छ। 

प्रधानमन्त्री सिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहेका छन् । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजनाअन्तर्गत जापानले आफ्ना दुईवटा हेलिकाेप्टर क्यारियर अद्यावधिक गर्नेछ । 

एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको दाबी गर्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताएका छन् । तर यस विषयमा आबेको जापानभित्रै विरोध भइरहेको छ । 

दोस्रो विश्वयुद्धपश्चात् भएको सहमतिविपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ । जापानलाई आफ्नो प्रतिरक्षा नीतिमा मात्र ध्यान केन्द्रित गर्न चीनले आग्रह गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नुपरेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्