बोहोराको नाइँनास्ती तर गुपचुप फोरम प्रवेश तयारी



काठमाडौं : सत्ता राजनीतिका माहिर खेलाडी पूर्वमन्त्री दीपक बोहोरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने भन्ने चर्चा राप्रपा (प्रजातान्त्रिक) ले अस्वीकार गरेको छ । राप्रपा प्रजातान्त्रिक रूपन्देहीका प्रवक्ता रवि रौनियारले शुक्रबार विज्ञप्ति जारी गरी नेता बोहोरा फोरममा प्रवेश गर्ने समाचारमा सत्यता नरहेको जनाएका छन् । 

फोरम अध्यक्ष यादव र नेता बोहोराबीच पटकपटक सम्पर्क भएको र त्यसपछि बोहोरा फोरममा प्रवेश गर्न सहमत भएको दाबी शुक्रबार केही अनलाइन न्युज पोर्टलहरूले गरेका थिए । ती सञ्चारमाध्यमका अनुसार बोहोरालाई फोरममा उपाध्यक्ष दिने तयारी गरिएको छ । 

अहिले स्वास्थ्य मन्त्रालयमा कार्यरत एक कर्मचारीले यादव र बोहोराबीच सम्पर्कसूत्रको काम गरेको र त्यसपछि पार्टी प्रवेशसम्बन्धी योजना अघि बढेको समेत दाबी गरिएको छ । मन्त्रालयका कर्मचारी बोहोराका पूर्वसहयोगी हुन् । मन्त्री बोहोरा अघिल्लो सरकारमा केही समयका लागि स्वास्थ्यमन्त्रीसमेत भएका थिए । फोरम अध्यक्ष यादव अहिले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री छन् । 

‘बोहोराजीको राजनीतिक अनुभव र सुझबुझबाट हामीले फाइदा लिनुपर्छ भन्ने निष्कर्ष निकालेर उहाँलाई पार्टीभित्र ल्याउने अन्तिम तयारी गरिसकेका छौं । पार्टीभित्र उहाँको आसन्न भूमिकाबारे पनि टुंगो लागिसकेको छ,’ फोरमका एक नेताले भने, ‘तर अचानक पार्टीमा नआउने उहाँको प्रतिक्रियाले हामी अचम्ममा परेका छौं ।’ बोहोरा फोरममा प्रवेश गर्ने भन्ने समाचार सार्वजनिक भएपछि उनी दबाबमा आएर तत्कालका लागि यस्तो स्पष्टीकरण दिएको फोरमका ती नेताको बुझाइ छ । 

राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालका बीच जारी एकीकरण प्रक्रियाको बाधक पात्रका रूपमा अपयश बढ्न थालेपछि बोहोरा चार दशक लामो राजनीतिक इतिहासमा पहिलोपटक तत्कालीन पञ्चइतर पार्टीमा जाने तयारी गरेको बताइएको छ ।

 

फोरमसँग पश्चिम नेपालमा पाका र प्रभावशाली नेता नरहेको र आफ्नो गृहजिल्ला रूपन्देहीमा फोरमको प्रभाव बढेको विश्लेषणपछि बोहोरा पार्टी प्रवेश गर्न सहमत भएको स्रोतको भनाइ छ । 

फोरम प्रवेश गर्नेबारे बोहोराको स्वतन्त्र विज्ञप्ति आएको छैन । जिल्ला पार्टी प्रवक्ता रौनियारका नाममा प्रकाशित र बोहोराको फेसबुक आइडीमा पोस्ट गरिएको विज्ञप्तिमा बोहोरा बृहत् राप्रपा एकीकरण अभियानमा संलग्न हुने जनाइएको छ । तर, बोहोराकै कारण अघिल्लोपटक एकीकृत राप्रपा विभाजित बनेको आरोपसमेत लाग्दै आएको छ । 

द नेपालटपसँग भने बोहराले आफ्नो धारणा फेसबुकमा हालिसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्