ब्याडमिन्टन प्रतियोगिता शुरु



कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि पुरुष डबल्स खुला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । तिहारको अवसरमा शुक्लाफाँटा ब्याडमिन्टन सङ्घको आयोजनामा शुरु भएको सो प्रतियोगितामा २८ टोली सहभागी छन् ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले उक्त प्रतियोगिताको उद्घाटन गरे। उनले खेलकूदको विकास र विस्तारका लागि नगरपालिका योजनासहित लागि परेको बताए। “हामीले खेल प्रतियोगिता नियमित रुपमा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “खेलकूदमा लगानी बढाउँदै गएका छौँ ।” नगरप्रमुख ऐरले वडास्तरमा समेत खेल गतिविधि सञ्चालन भइरहेको बताए।

शुक्लाफाँटा ब्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले ग्रामीणस्तरमा ब्याडमिन्टनको लोकप्रियता बढ्दै गएको बताए। “पूर्वाधार नभएको अवस्थामा पनि प्रतियोगिता सञ्चालन गरिरहेका छौँ”, उनले भने। प्रतियोगितामा शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका खेलाडी सहभागी छन् ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रोले रु दश हजार पुरस्कार प्राप्त गर्नेछ । – रासस

प्रतिक्रिया दिनुहोस्