जाडोले ज्यान गुमाउनेका परिवारलाई ५० हजार



सर्लाही चक्रघट्ट गाउँपालिकाले चिसोबाट हुने समस्या र समाधानबारे शुक्रबार गरेकाे छलफलका सहभागी

सर्लाही : शीतलहरबाट तराई क्षेत्रका विभिन्न जिल्लामा हरेक वर्ष ठूलो धनजनको क्षति हुनाका साथै दैनिक जीवन कष्टकर हुने गर्छ । तर, यसबाट जोगिने पूर्वतयारी भने खासै गरिएको पाइँदैन । तर, सर्लाहीको चक्रघट्टा गाउँपालिकाले भने शीतलहरबाट बच्ने पूर्वतयारी थालेको छ । 

 

चिसोका कारण कठ्यांग्रिएर ज्यान गुमाउनेलाई ५० हजारका दरले किरियाखर्च दिइने गाउँपालिकाले निर्णय गरेको छ । त्यस्तै शीतलहरका बिरामीको औषधोपचारमा जनही ५० हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

 

गाउँपालिका कार्यालयले चिसोबाट हुने समस्या र तिनका समाधानका लागि गरिने उपायबारे शुक्रबार बृहत् छलफल गरेको छ । गाउँपालिकाले छलफलमा गाउँपालिका अध्यक्ष विक्रम यादवले उक्त घोषणाबारे जानकारी दिएका हुन् ।

 

शीतलहरको कहरबाट जोगिन गाउँपालिकाका नौवटै वडामा समूह गठन गरी दाउरा वितरण गरिने समेत उनले जनाए । ‘एक वडामा कम्तीमा दुइटा समूह हुनेछन् र जाडो अवधिभर मागका आधारमा दाउरा उपलब्ध गराइनेछ,’ अध्यक्ष यादवले भने । 

 

गाउँपालिकाकाले गरिब, असहाय र आवश्यक भएकालाई न्याना लुगासमेत उपलब्ध गराइउनेछ । चक्रघट्टामा २७ हजार जनसंख्याको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्