राष्ट्रिय संगीतकर्मी अवार्ड बर्दघाटमा हुने 



काठमाडौं : राष्ट्रिय संगीतकर्मी संघ नवलरासीले फागुन ४ गते राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५ को आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त अवार्ड कार्यक्रमबारे जानकारी दिइएको हो । 

संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजना गरिने राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५ ले संगीत फाँटमा नयाँ आयामसहितको गति दिने बताए । 

राष्ट्रिय संगीतकर्मी संघ नवलपरासीकी अध्यक्ष भानुमती तिवारीले बर्दघाटको अवार्ड कार्यक्रम निष्पक्ष र विवादरहित हुने बताइन् । पहिलेका अवार्ड कार्यक्रमले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै यसपटकको अवार्ड कार्यक्रमबाट सांगीतिक क्षेत्रमा इमानदार र सच्चा कलाकार पनि रहेको सन्देश प्रवाहित गर्ने उनले उल्लेख गरिन् ।

कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोकगीत, सर्वोत्कृष्ट लोकदोहोरी गीत, सर्वोत्कृष्ट आधुनिक गीत, चलचित्र गीत, वाद्यवादक, सर्वोत्कृष्ट रचनाकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट गजललगायत ४० विधामा अवार्ड वितरण गरिनेछ । 

मंसिर १५ गतेदेखि सुरु भएको अवार्ड फर्म वितरण माघ १५ गतेसम्म खुला रहने जानकारी आयोजकले दिएको छ । अवार्ड कार्यक्रमका लागि अहिलेसम्म करिब नौ सय कलाकारले सिर्जना दर्ता गराएका छन् । जसमा लोकदोहोरी क्षेत्रका कलाकारको संख्या अधिक छ ।

प्रतिक्रिया दिनुहोस्