नागरिकको न्यायमा ध्यान दिन प्रधानन्यायाधीशको आग्रह



काठमाडौँ : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नागरिकमा न्यायको पहुँच पुर्‍याउने कार्यमा सबै कानून व्यवसायीले ध्यान दिनुपर्ने बताए । 

 

नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्वसका अवसरमा शुक्रबार आयोजित अभिनन्दन कार्यक्रममा उनले न्यायमा पहुँच पुर्‍याउने काममा कानून व्यवासयीले ध्यान दिनुपर्ने बताए । 

 

प्रधानन्यायाधीश मिश्रले भने, “सबै कानून व्यवसायीको भूमिकाको अन्तिम गन्तव्य न्याय नै हो, यसमा सबै कानून व्यवसायीले ध्यान दिनुपर्छ ।” उनले परिषद्ले न्यायको विकासमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न आग्रह गरे। 

 

सो अवसरमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, कृष्णप्रसाद पन्त, हरिहर दाहाल, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, राजेन्द्रबहादुर साउदलाई कानूनको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै अभिनन्दन प्रधानन्यायाधीश मिश्रले गरेका थिए । 

 

अभिनन्दनपछि वरिष्ठ अधिवक्ताहरु अधिकारी, दाहाल र मैनालीले कानून व्यवसायलाई व्यवस्थित र विकास गर्न परिषद्को महत्वपूर्ण भूमिका रहेको बताएका थिए । सो अवसरमा स्वर्गीय वरिष्ठ अधिवक्ता बासुदेव ढुङ्गानाको स्मरण गर्दै उनको योगदानको विषयमा वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

 परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ता अग्नि खरेलले परिषद्ले विगतमा गरेका कामको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी तरिकाले काम गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्