दलदलमा खसेर गैँडाको मृत्यु



चितवन : दलदलमा खसेर भरतपुरमा एक गैँडा मरेको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । 

स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करिब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए । 

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

डिलबाट खसेर दलदलमा परेको घाइते गैँडाको उद्धार गर्ने क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । 

अन्दाजी १० वर्षको पोथी गैँडा दिउँसो सामुदायीक वनबाट निस्किएर बस्ती प्रवेश गरी मान्छेलाई लखेटेको थियो । सोही क्रममा दुर्घटना भएको हो । 

चालू आर्थिक वर्षको हालसम्म निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले २० गैँडा मरेका छन् भने गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए । 

प्रतिक्रिया दिनुहोस्