स्वदेश फर्किएलगत्तै राजनीतिक भेटघाटमा सक्रिय नेकपा अध्यक्ष दाहाल



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। पत्नी सीताको उपचारका लागि सिंगापुर गएका नेकपाका अध्यक्ष सोमबार राति फर्केका हुन्।

 

दाहालका प्रेस संयोजक विष्णु साप्कोटाले अध्यक्ष प्रचण्ड सीताको उपचारपछि नेपाल फर्केको बताए। सापकोटाका अनुसार चिकित्सकले सीतालाई ६ महिना नियमित औषधि सेवन गर्न सुझाएका छन्। सीताको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।

 

दाहाल नेपाल फर्कनासाथ राजनीतिक भेटघाट र छलफलमा व्यस्त हुने उनले बताए। सिंगापुर रहेका बेला पार्टीभित्र मतभेद सार्वजनिक भएकाले त्यसबारेमा नेताहरुसँग छलफल गर्ने दाहालको तयारी छ।

 

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

 

अमेरिकापछि कोस्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि विवाद नरहेको दाबी गरिरहेका बेला दाहालले सिंगापुरबाटै नेपाललाई फोन गरेर पछिल्ला असमझदारी र असहमतिबारे आफू नेपाल फर्केपछि कुरा गर्न सकिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्