देउसी भैलो राति १० बजेसम्म



विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु-याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक लाग्ने र आगलागी भई धनजनको क्षति हुन सक्ने भएकाले त्यस्ता पदार्थको उत्पादन, आयात, निर्यात, खरीद, बिक्री वितरण, ओसापसारलगायतमा पूर्ण रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्री वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने निर्णय बैठकमा भएको छ ।

भारतबाट आयात गरिने पटाका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनाका साथै बजारमा अनुगमन कार्य तीव्र पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्