हिउँदे अधिवेशनको सम्पूर्ण तयारी पूरा



काठमाडौँ : संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ ।

 

नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो ।

 

अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा भरतराज गौतमले जानकारी दिए।

 

संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को अधिवेशन सञ्चालन गर्दै आएको छ । सचिवालयले प्रत्येक अधिवेशन शुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ ।

 

हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाँझिने पुराना कानूनलाई संविधानसम्मत तुल्याउने गरी कानून निर्माण गर्नेछ ।

 

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित सङ्घीय संसद्का दुवै सदन सञ्चालन हुने सभाहलको शुक्रबार निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्