यस्तो छ २६ वर्षपछि सञ्चालनमा ल्याइएको बलेवा विमानस्थलको अवस्था



बागलुङ: ‘बिरामी हुँदा सजिलो होला भनेका थियौं । फेरि जहाज आउनै छाड्यो । पहिला पनि हामी जहाज चढेर गएका थियौं । लामो समय एयरपोर्ट चलेन । अब बुढेसकालमा सेवा पाइन्छ भनेको फेरि रोकियो ।’ यी भनाइहरू बलेवाकी ७७ वर्षीया मानकुमारी खड्काको हो ।

 

२६ वर्षपछि तामझामका साथ ६ महिनाअघि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द छ । कारणचाहिँ कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने ८ किमि सडक कच्ची हुनु हो । जहाज नचल्दा विमानस्थल फेरि बस्तुभाउको चरिचरनमा परिणत भएको छ ।

 

छ महिनाअघि सदरमुकामको हुलाक कार्यालयमा जहाजको टिकट काट्ने ठाउँ भनेर ब्यानर झुन्डयाइएको थियो । टिकटका लागि सम्पर्क व्यक्ति पनि तोकिएको थियो । जहाज आउँदा यहाँबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र नगरप्रमुख स्वागतका लागि बलेवा विमानस्थल पुगेका थिए । बलेवा हवाईमैदान सञ्चालनमा ल्याएको भाषण गर्न भ्याएका राजनीतिक नेतृत्व अहिले विमानस्थलको नाम समेत लिन चाहँदैनन् ।

 

गत असारदेखि जहाज आउन छाडेपछि विमानस्थल फेरि गौचरनमा परिणत भएको स्थानीयको भनाइ छ । कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने सडक पनि झन्डै ८ किमि कच्ची भएकाले यात्रीको रोजाइमा यो विमानस्थल पर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । नगरपालिकाले पनि नीति तथा कार्यक्रम र बजेटमा यो विमानस्थल सञ्चालनको कार्यक्रम नल्याएपछि जहाज आउने क्रम ठप्पै भएको कान्तिपुरमा खवर छ ।

 

मालढुंगादेखि बलेवासम्मको सडक कालोपत्रे गरेर विमान आवागमन सञ्चालन गर्ने नगरको योजना पनि असफल भएको छ । कालीगण्डकी करिडोरमा पर्ने यो सडकखण्ड चालु वर्षदेखि फराकिलो बनाउन सेनाले जिम्मा लिएको छ । यो सडक निर्माणको काम पूरा हुन वर्षौं लाग्ने भएपछि सहजै विमानस्थल पुग्न सकिँदैन । छिमेकी पर्वत सदरमुकामबाट बलेवा जोड्ने पक्की पुल नभएकाले हवाईजहाज चढ्नुपर्दा यात्रीले बलेवाको साटो पोखरा रोज्ने गरेका थिए ।

 

कच्ची धावनमार्ग भएकाले वर्षातमा चिप्लो हुन्छ । गत वर्षको फागुनमा बागलुङ नगरपालिकाको अगुवाइले नेपाल एयरलाइन्स र तारा एयरलाइन्सलाई १०/१० लाख रुपैयाँ धरौटी राखेर सिट क्षमता नपुगेमा खर्च भराउने सर्तमा जहाज चलाइएको थियो । जहाज सञ्चालन अवधिमा झन्डै १० लाख रुपैयाँ बराबरकै सिटको घाटा रकम बागलुङ नगरपालिकाले एयरलाइन्सलाई बुझाएपछि जहाज आउन छाडेको हो ।

 

कालीगण्डकीको ट्रयाक बाहेकका यसअघि निर्मित सडक कालोपत्रे गर्न सकेमा पनि जहाज सञ्चालन सहज हुने बागलुङ नपा–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘यति धेरै पहल भइसकेपछि नियमित बनाउनैपर्छ,’ उनले भने, ‘करिडोर र पुरानो सडक कालोपत्रे गर्न सके यात्रीको समस्या हुँदैन ।’ बलेवा विमानस्थलमा जहाज अवतरणका लागि समस्या नभएको क्याप्टेन सञ्जीव श्रेष्ठले प्रतिक्रिया दिएका थिए । नियमित उडान भएमा विमानस्थल कालोपत्रे गर्ने हवाई विभागका महानिर्देशकले यसअघि नै आश्वासन समेत दिएका थिए ।

 

बलेवा विमानस्थल सदरमुकामदेखि झन्डै १० किमि दक्षिणमा छ । जहाजमा चढ्नुपर्छ भन्दै वि.सं. २०१६ देखि तीन वर्ष लगाएर स्थानीयको प्रयासमा विमानस्थल निर्माण भएको थियो । यो विमानस्थल १ हजार १ सय मिटर लामो छ । २०१८ सालदेखि नियमित सञ्चालन भएको जहाज आवागमन वि.सं. २०४८ सालमा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्