अहिले नै धेरै ओपन हुन्न : नायिका सुपुष्पा भट्ट



‘छ माया छपक्कै’को अभिनयबारे कस्तो प्रतिक्रिया आइरहेको छ ?
राम्रो छ प्रतिक्रिया। मेरो र जीतुको जोडीलाई दर्शकले पर्दामा रुचाइदिनु भएको छ। फिल्ममा जीतुसँग हाइट नमिल्ने भूमिका थियो। कस्तो भूमिका गरेको होला भनेर दर्शकबाट नकरात्मक कमेन्ट आउला भन्ने डर थियो तर मन पराइदिनु भयो।

फिल्ममा त छोटो भूमिका छ नि ! दर्शकले नोटिसै गरे र ?
हो, गेस्ट रोल मात्रै हो। हाम्रो भूमिका ह्युमरस रहेकाले नोटिस गर्नुभएको छ।

ठूलो ब्यानरको फिल्म भनेर सानै रोलमा चित्त बुझाएको हो ?
भर्खर फिल्म इन्डस्ट्रीमा आ’को छु। बेबी स्टेप लिइरहेको बेला राम्रो टिमले सानै रोलमा अफर गरे पनि स्वीकार गरेँ। एकैचोटी लाइमलाइटमा आएर हराउनु छैन क्या ! बरु बिस्तारै अघि बढ्दै यो इन्डस्ट्रीमा पछिसम्म टिक्नु छ। दर्शकले सम्झने खालको रोल छ भने किन नगर्ने भनेर गरेको हो।

पहिलो फिल्म त फ्लप भयो। दोस्रो फिल्ममा अभिनय गर्दा के–के कुरामा सुधार आए त ?
दर्शकले यो फिल्ममा मेरो खासै अभिनय हेर्न पाउनु हुन्न। अब एउटा गाउँले केटीको भूमिकामा म देखिएकी छु यसमा। पहिलो फिल्म गर्दा भने डाइलग डेलिभरीमा समस्या छ भनिएको थियो। चर्को स्वर आयो भन्नु भएको थियो। यो फिल्ममा भने त्यस्तो समस्या आएन। यही सुधार भयो भनौँ न ! (मुस्कुराउँदै)

रियलमा त तपाईं निकै नरम अनि सानो स्वरमा बोल्नुहुन्छ। फिल्ममा कसरी चर्को स्वर आयो ?
खोई, मलाई नि थाह भएन। निर्देशकले जसरी बोल्न लगाउनु भयो त्यसरी नै बोलेकी थिएँ।

जीतुसँग जोडी बनेर अग्लो र होचोबीचको प्रेमकथा देखाउनुभयो। आफू अग्ली भएकै कारण रियल लाइफमा कहिल्यै यस्तो समस्या आइलागेको छ कि छैन ?
स्कूल पढ्दा म एकदमै मोटी थिएँ। साथीहरुले मोटी भनेर जिस्काउँथे। मेरो शरीरलाई लिएर भद्दा मजाक गर्थे। मेरो अगाडि त सबै साना देखिन्थे तर म भने अग्ली थिएँ। ९/१० मा पढ्दा अरु साथी भन्दा म अग्ली देखिन्थेँ। त्यतिबेला भने म किन यति धेरै अग्ली भनेर नरमाइलो लाग्थ्यो ! म अरुजस्तो किन भइनँ भनेर स्कुलमै रोइदिन्थेँ। त्यो मेरो एउटा नराम्रो अनुभव हो तर अहिले यही हाइट मलाई राम्रो लाग्छ।

हाइटलाई हेरेर उपनाम पनि राखिदिए होला नि ?
(हाँस्दै) मलाई एक त मोटी भन्थे। अहिले पनि कति साथी मोटी नै भनेर बोलाउँछन्। लम्बु, बाँस, बाँसघारे नामले पनि बोलाउँथे त्यो बेला। त्यसरी बोलाउँदा नराम्रो लाग्थ्यो।

‘छ माया छपक्कै’को ट्रेलरमा जीतुसँग फोटो खिच्दा तपाईँको वक्षस्थलसम्म जीतुको कद पुगेको दृश्यले तनाव दिएन त ?
मलाई त सबैजनाले त्यही भिडियो पठाएर राम्रै प्रतिक्रिया दिनुभयो। मेसेजमा त्यो दृश्य पठाएर हाहा रियाक्ट गर्नुहुन्थ्यो। मलाई त्यही गर्दा पनि रमाइलो लाग्यो। हामीले त दर्शक नै त हँसाउन खोजेका थियौँ नि त !

फिल्ममा त टुप्पीवालाले माग्न आउँछ। घरतिर अहिले नै बिहेको कुरा त हुन्न नि ?
छैन (लजाउँदै)। अहिले त म सानै छु। भर्खर त २२ की भएँ।

‘छ माया छपक्कै’ टिमसँग काम गर्दा कलाकारको भिडमा हराउँछु भन्ने डर भएन ?
‘रणवीर’ फिल्म गर्दा पनि शुभेच्छा खड्का र सुशील सिटौला अनि पुरानो कलाकारको बीचमा हराउने हो कि भनेर कतिले प्रश्न गर्नु भएको थियो तर पनि म हराइनँ। मेरो त त्यो पहिलो प्लेटफर्म थियो। राम्रो टिमसँग काम गर्दा हराइँदैन, बरु नोटिस हुन्छ कि जस्तो लाग्छ।

आगामी फिल्ममा साइड रोलमै चित्त बुझाउने कि हिरोइन नै बन्ने हो ?
हिरोइन नै बन्ने हो (लामो सास तान्दै) तर अब अभिनयका लागि लिड भूमिका नै हुनुपर्छ भन्ने लाग्दैन। क्यारेक्टर बलियो भयो भने अनि राम्रै ब्यानरबाट अफर आयो भने त गर्नै पर्छ।

इन्डस्ट्रीमा त हिरोइन बन्न आउनु भएको होला नि ?
हजुर। अब आउँछ होला नि त्यो दिन पनि ! कथा राम्रो आयो, टिम राम्रो आयो भने म हिरोइन बनेरै फिल्म गर्छु।

‘रणवीर’को अभिनयको तारिफ भए पनि फिल्म चलेन। डेब्यु फिल्म फ्लप हुँदा कत्तिको असर ग-यो आफैँलाई ?
फिल्म फ्लप भएपछि ३/४ जना फिल्मकर्मीले मलाई एकदमै नराम्रोसँग भन्नु भएको थियो। एक जना चलेकै निर्माताले डेब्यु फिल्म नै फ्लप भयो भनेर यत्ति नराम्रोसँग भन्नु भयो कि अहिले सम्झदा नि चित्त दुख्छ।

के भन्नु भएको थियो ?
‘तिम्रो त पहिलो फिल्म नै फ्लप भयो। अब फिल्म गरेर के बस्छौ ? तिमी अर्कै क्षेत्रमा लाग’ भन्नुभयो। फिल्म क्षेत्रमै करियर खोज्दै यता आएको मान्छेलाई पहिलो पाइलामा नै त्यस्तो टिप्पणी गरिदिँदा एकदम नरमाइलो लागेको थियो। तर मैले ती कुरालाई झेल्दै गएँ। तैपनि ‘रणवीर’ गरेर बेफाइदा भयो भन्ने लाग्दैन किनभने मलाई त्यही फिल्म हेरेर दीपाश्री निरौलाले अफर गर्नु भएको हो।

के कारणले डेब्यु फिल्म फ्लप भएको जस्तो लाग्छ ?
सायद प्रमोसनको कमी भयो। हामीले दर्शकबीच प्रमोसन नै गर्न सकेनौँ। अन्तिम समयमा आएर हामीले प्रचार थालेका थियौं। दर्शकलाई त ‘रणवीर’ फिल्म पनि छ भन्ने थाहै छैन। रिपोर्ट बुझ्न हल हल पनि पुगेका थियौं। हल खाली देख्दा मन चिसो हुन्थ्यो। चित्तै दुख्थ्यो।

स्टार भ्यालुले पनि असर गरेको हो कि ?
त्यस्तो त लाग्दैन। किनकि ‘प्रेमगीत’ गर्दा पनि प्रदीप खड्का आउँदा उहाँको पनि पहिलो फिल्म ‘स्केप’ फ्लप भएर त्यो फिल्म गर्नु भएको थियो। प्रमोसन राम्रो भयो भने स्टार भ्यालुले असर गर्छ जस्तो लाग्दैन। डेब्यु फिल्म नै हिट भएको पनि हामीले देखेका छौँ नि ! साम्राज्ञी राज्य लक्ष्मी शाह आउँदा स्टार हुनुहुन्थेन तर फिल्म ‘ड्रिम्स’ हिट भयो।

परिवारले के भन्नु भयो ?
घरमा त मलाई हिम्मत हार्नु हुन्न भनेर भन्नु हुन्थ्यो। राम्रो गर्दै अगाडि बढ्ने हो भनेर भन्नुहुन्थ्यो बुबा–ममीले।

‘रणवीर’पछि पनि फिल्मको अफर त आयो होला नि ?
धेरैवटा फिल्मबाट अफर आएको थियो। कति फिल्मको त ब्यानरको नामै मैले पहिलोपटक सुनेको थिएँ। राम्रै ब्यानरबाट पनि अफर आएको थियो तर कति कुरा नमिलेर गरिनँ। केही फिल्मकर्मीसँग फिल्मको लागि भेटेको पनि थिएँ। स्क्रिप्ट पनि सुनेँ तर उहाँहरु आफैँ अकमकिनु हुन्थ्यो के ! उहाँहरु नै कथामा कन्फिडेन्ट हुनुहुन्थेन।

‘चपली हाइट ३’को अफर कसरी आयो ?
फिल्म निर्माता अर्जुन कुमारले नै अफर गर्नु भएको हो।

त्यसमा पनि सहायकै भूमिका हो कि लिड ?
‘चपली हाइट २’मा जसरी दुईजना हिरोइन हुनुहुन्थ्यो। यसमा पनि म दुईजनामा एक लिड हिरोइनकै भूमिकामा देखिन्छु।

यो फिल्मको अफर आउँदा सुरुमा कस्तो अनुभव भयो त ?
सुरुमा फिल्ममा धेरै खुल्नु पर्ने हो कि भनेर धक लागेको थियो। ओपनअप हुनुपर्ने दृश्य, त्यस्तो केही छ कि भनेर मैले निर्मातालाई सोधेँ। उहाँले त्यस्तो केही छैन फिल्म थ्रिल र सस्पेन्स समावेश छ भनेपछि तयार भएँ।

भनेपछि खुल्न गाह्रो लाग्छ ?
अब कलाकार भएपछि यो गर्छु गर्दिनँ भन्न त मिल्दैन तर ओपन नै हुन अहिले अलि कम्फर्टेबल छुइनँ।

समाजले खुल्न नदिएको हो कि परिवारले ?
म आफैँ पनि रेडी छैन त्यसका लागि। फ्यामली पनि रेडी हुनुहुन्न।

समाजले त खुल्नुलाई नै ग्ल्यामर भनेर बुझ्छन् नि ?
हो त्यो त। फिल्ममा त ग्ल्यामरस भूमिका नै हो तर खासै त्यस्तो ओपनअप हुने भने होइन। अलि फरक भूमिका छ।

फिल्म क्षेत्रमा प्रवेशबारे कुरा गरौँ न त ! कसरी आइयो यता ?
म चार्टर्ड एकाउन्टेन्ट पढ्दै थिएँ। सेकेन्ड एक्जाम सकाएर ‘ब्लिंक ट्यालेन्ट म्यानेजमेन्ट’ मोडलिङ इजेन्सीमा गएर ५० दिनको ट्रेनिङ लिएँ। त्यहाँ खिचेको फोटो मैले कलाकार प्रशान्त ताम्राकारलाई केही अडिसन भयो भने खबर पाऊँ भन्दै पठाएँ। उहाँले मेरो फोटो ‘रणवीर’को निर्देशक गोविन्द सिंह भण्डारीलाई पठाउनु भएछ। उहाँहरुले मलाई अडिसन दिन बोलाउनु भयो। अडिसन दिने धेरै थिए। तापनि म सेलेक्ट भएँ।

‘ब्लिंक ट्यालेन्ट म्यानेजमेन्ट’ले यो क्षेत्रमा आउन मद्दत ग-यो ?
होइन नि ! त्यो एजेन्सी त बदमास हो। म त अन्यलाई त्यो एजेन्सीमा नजानुस् नै भन्छु। मजस्तै अरु पनि धेरै सपना लिएर त्यो एजेन्सी जाँदा ठगिन सक्नुुहुन्छ। उनीहरुले भारतमा काम दिलाइदिन्छु भनेर कन्ट्याक्ट पनि गर्नुभयो तर हामीलाई न भारतमा काम दिलायो न त नेपालमै। ट्रेनिङमै हाम्रो लगभग ७० हजार खेर गयो। यो दिन्छु त्यो दिन्छु भन्नु भएको थियो तर केही पनि भएन। ट्रेनिङ लिने हामी ५० जना जति थियौँ, कसैले केही पाउनु भएन। दुई वर्षअघि म यो एजेन्सीमा आबद्ध थिएँ। स्पिट्सभिल्लाको कोको बोलाउँछु भनेर भनेका थिए। भारतबाट फोटोसुट गर्न फोटोग्राफर बोलाउनु भएको थियो। त्यो फोटोसुटको ४० हजार लागेको थियो। तर, फोटो भने कसैलाई चित्त बुझेन।

त्यतिखेर प्रशान्त ताम्राकारले इन्डस्ट्रीमा लेराएको भनेर चर्चा पनि चलेको थियो नि ?
उहाँप्रति म धेरै आभारी छु। उहाँले मेरो फोटो फिल्मकर्मीलाई पठाइदिनु भएको हो। उहाँलाई त म गडफादर नै मान्छु।

फिल्म क्षेत्रमा प्रवेशअघि नै मोडल एजेन्सीबाट धोका पाउनु भयो। फिल्ममा डेब्यु गर्न चाहिँ कत्तिको गाह्रो भयो ?
फोटो अनि अडिसन हुँदै फिल्म पाउँदा त मलाई सपनाजस्तै लागेको थियो। सानैदेखि नाच्न गाउन मन पर्ने मलाई। जसरी पनि हिरोइन बन्छु भन्ने थियो। सानामा पनि मैले कहिल्यै कार्टुन हेरिनँ। खाली गीतहरु सुन्ने नाच्ने गर्थें। ठूलो भएपछि अभिनयमा पनि रुचि रहेछ भन्ने अनुभव गरेँ। सिए पढ्दै थिएँ। एकदम प्रेसर हुन्छ नि त पढाइमा। तर, मेरो दिमागमा भने कहिले फिल्म क्षेत्रमा छिरौं भन्ने नै हुन्थ्यो। लोभ लालच देखाउने फिल्मकर्मीसँग भेट भयो। उनीहरुले आऊ हाम्रो फिल्म गर, तिम्रो एक्सपोजर हुन्छ भन्थे। धेरै कुरा बुझेर काम गर्नुपर्दो रहेछ यहाँ। म त अहिले कसैले फिल्मको अफर ग-यो कि अरुबाट सल्लाह लिने गर्छु।

सिए गर्दै हुनुहुन्छ कि छोड्नुभयो ?
बिबिएस सकिसकेँ। सिएको भने इक्जाम दिइरहेकी छु। फेल भइरा’छु। इक्जाम दिइरा’छु फेल भइराछु (हाँस्दै)। पढ्ने समय नै पाएकी छैन नि त मैले। सिए सकेपछि फिल्म लाइनमै जान्छु भन्ने थियो तर बीचैमा भाग्यले यतै डोहो-यायो।

फेल हुन डर लाग्दैन जस्तो छ नि ?
सबै कुरामा सकारात्मक हुनुपर्छ भन्ने लाग्छ। अब पहिलो फिल्म नै फ्लप भयो भनेर आत्तिएको भए यहाँ हुन्थिनँ।

परिवारको पृष्ठभूमि ?
बुबा इलेक्ट्रोनिक्स इन्जिनियर हो। उहाँ संसद् भवनमा काम गर्नुहुन्छ। परिवार एकदम सपोर्टिभ हुनुहुन्छ। घरमा जता पनि मेरै फिल्मको गीत बजिरहन्छ। किचनमा पनि मेरै गीत बज्छ। बुबा त मेरो बेस्टफ्रेन्ड नै हुनुहुन्छ।

‘रणवीर’ फिल्मको सम्झौता गर्न बुबालाई लिएर जानु भएको थियो अहिले पनि लिएरै जाने गर्नुहुन्छ कि ?
अडिसनमा जाँदा भाइ लिएर गएकी थिएँ। सम्झौता गर्न बुबासँग गएँ। बुबा आफैँ पनि यो फिल्ड बुझ्न चाहनुहुन्थ्यो। ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’को सम्झौतामा बुबालाई लगिनँ। अलिकति प्रोफेसनल हुन सिक्दैछु (हाँस्दै)। शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्