अफिमको बीउ आफैँ बाँड्छन् व्यापारी



जाजरकोट : जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा अफिम बीउ लिएर व्यापारी पुगेका छन् । मकैबारीमा लगाएको अफिम निकाल्न र नयाँ बीउ वितरण गर्नका लागि व्यापारी गाउँमा पुगेका हुन् ।

अवैधरूपमा गरिँदै आएको यो खेती प्रहरी, प्रशासनको आँखा छल्ने ठाउँमा हुँदै आएको छ । व्यापारीले बर्सेनि सुरक्षा निकायको आँखा छल्दै खोँच, अग्ला डाँडा र नजर नपुग्ने ठाउँमा खेती गर्दै आएका छन् । जिल्लाका बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशेगाउँपालिकाका अग्ला ठाउँमा बर्सेनि व्यापारीले बीउ वितरण गरेर आफैँ भित्र्याउने समयमा पुग्ने गरेको स्रोतले बताएको छ ।

मकैबारीमा लगाएको अफिम र चरेस उठाएर नयाँ बीउ लगाई पाक्नेबेलामा व्यापारी पुग्ने गरेका छन् । नलगाड नगरपालिकाको वडा २, ३, ४, ५, ६ ,७ ,८ ,९, १०, ११, १२, १३ र बारेकोट गाउँपालिकाका सबै वडामा, कुशे गाउँपालिकाको अधिकांश वडामा, जुनिचाँदे गाउँपालिकाका केही वडामा खेती हुँदै आएको छ ।

स्थानीयवासीसँग मिलेर व्यापारीले खेती गरी व्यापार गर्दै आएका छन् । अफिम खेतीमा स्थानीय राजनीतिक दलका जिम्मेवारी नेता तथा कार्यकर्ता लागेको पाइएको छ ।

प्रहरी पुग्न चार घण्टाभन्दा बढी लाग्ने ठाउँमा लागु औषधको खेती हुँदै आएको छ । तोरी, तरकारी बाली, गहुँ र केराउ बारीमासँगै अफिम लगाउने गरिँदै आएको छ । मुख्य व्यापारीदेखि गाउँका साना व्यापारीको मिलेमतोमा व्यापार हुँदै आएको छ । घरमै गई बीउ लिएर कति जमीनमा कति लगाउने भन्नेसम्मको विधि नै सिकाउने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्