कति विभत्स थियो गौर सामूहिक हत्याकाण्ड ? किन तानिदैछन् उपप्रधानमन्त्री उपेन्द्र यादव ?



रौतहट : आजभन्दा १२ वर्षअघि रौतहटको बरहदवामा बम बिस्फोटपछि घाइतेहरुसहित सबै २२ जनालाई जिउँदै इाटाभट्टामा हालेर जलाएको घटनामा पूर्वमन्त्री मोहमद अफताब आलममाथि भैरहेको छानबिन अन्तिम अवस्थामा पुगिरहँदा त्योभन्दा एक वर्षअघि २०६३ चैत ७ गते गौरको राइसमिल मैदानमा तात्कालीन मधेसी जनअधिकार फोरमले तात्कालीन नेकपा (माओवादी) को मधेशी मुक्ति मोर्चाका २८ जना निशस्त्र कार्यकर्ताहरुमाथि गरेको बर्बर सामूहिक हत्याका प्रमुख जिम्मेवार भनिएका हालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव गौर राइसमिल हत्याकाण्ड घटनाको छानबिनमा तानिन थालेका छन् ।

सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा मुछिएर छानबिन तथा अनुसन्धानको प्रक्रियामा रहिरहेका बेला पूर्वमन्त्री तथा नेपाली कांगे्रसका नेता मोहम्मद अफताब आलम १२ वर्ष पहिलेको बम बिष्फोटको घटना छानबिनमा तानिएसँगै वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री अनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गौर हत्याकाण्डमा तानिन थालेका हुन् ।

नेकपाको नेतृत्वमा दुईतिहाई बहुमत सरकार निर्माणसँगै पछिल्लो समयमा सापेक्ष शान्ति र स्थिरता कायम हुनथालेको आभाषहुँदै गर्दा कानुनीराजका कुराहरुले विगतका जघन्यखालका मानव अधिकार घटनाक्रमहरुलाई क्रमशः एकपछि अर्को गरी उप्काउन थालेको पाइउको छ । महरा र आलम मुछिएका घटनाहरु छानबिनको दायरामा आएपछि अब उपेन्द्र यादवको संलग्नता रहेको गौर राइसमिल सामूहिक हत्याकाण्ड छानबिनमा आउने वातावरण बन्दै गएको छ ।

सामाजिक सञ्जालमार्फत् गौर राइस मिलको सामूहिक हत्याकाण्डका दोषी यादवमाथि कारवाहीको प्रक्रिया चाल्न जनसाधरणबाट समेत ब्यापक दबाब परेपछि राष्ट्रिय सञ्चारमाध्यमहरुमा यसले ठूलो स्थान पाउँदै गएको छ । यही जनसाधरणको माग र सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण र चासोलाई संबोधन गर्दै कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गौर राइसमिल सामूहिक हत्याकाण्डमाथि छानबिन गरिने आधिकारिक धारणा सार्वजनिक गरेपछि यसले छानबिन हुनेमा कुराको विश्वसनियतामाथि थप बल पुर्याएको छ ।

आजभन्दा १३ वर्षअघि २०६३ साल चैत्र ७ गते रौतहटको राइसमिलको खुला प्रांगणमा घटेको उक्त घटनाको पछाडि तात्कालीन संक्रमणकालीन राजनीतिक परिवेशले ठूलो काम गरेको छ । माओवादी त्यति बेला वृहत् शान्ति संझौतामार्फत् शान्ति प्रक्रियामा आइसकेपछि यसले उठाएका मधेशी, जनजाति तथा पछाडि पारिएका भूगोल तथा जातिक्षेत्रका मागहरु क्रमशः छाड्दै गइरहेको थियो ।

पहाडीया जनजातिहरुमा माओवादीले छोड्दै गएका मागहरु विरोधसभा र जनसभाको स्तरसम्म अभिव्यक्त भएपनि तराइमा भने तात्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा मधेशीआन्दोलनका रुपमा यो अघि बढिरहेको थियो । फोरमले माओवादीलाई मधेशी मुक्तिका एजेण्डा छाडी गद्दारी गरेको आरोपसहित आफूहरुले ती एजेण्डाहरु उठाएर अघि बढेको दाबा गर्दै मधेसको भावनालाई माओवादी विरुद्धमा संगठित गरिसकेको थियो ।

अर्कोतिर माओवादी भने यो कुरालाई स्वीकार गर्न तयार रहेको थिएन । यी दुई बीचको अन्तरविरोधले दुस्मनीपूर्ण संघर्षको विन्दुमा एकअर्कालाई जबर्जस्त धकेलिरहेको थियो । कागतालीले यी दुबैलाई २०६३ सालको चैत्र ७ गते गौरको राइसमिल अगाडि रहेको खुला मैदानमा आआफ्ना कार्यक्रमसहित भेट गरायो ।

जनअधिकार फोरम आफूलाई माओवादीभन्दा अब्बल क्रान्तिकारी देखाउन चाहन्थ्यो भने माओवादी आफूलाई फोरमभन्दा झनै अब्बल प्रमाणित गर्न चाहन्थ्यो । नेताहरुले शान्ति प्रक्रियाका नाममा केन्द्रमा जेजे गरे पनि माओवादीको तल्लो तहमा भने क्रान्तिकारिताको दम्भपूर्ण धङधङी कम थिएन । यी दुवैले एकअर्कालाई प्रतिक्रान्तिकारी देख्ने र सराप्ने गर्थे ।

यो आपसी टकराव चैत्र ७ गते गौरको राइस मिलको मैदानमा संयोगले व्यवहारिक रुपमा अभिव्यक्त हुने गरायो । माओवादीले यही मैदानमा कार्यक्रमका लागि मञ्च निर्माण गर्यो । यसैको एक छेउँमा भनाभन गर्दै जनअधिकार फोरमले पनि आफ्नो मञ्च निर्माण गर्यो । सुरुमा मञ्च नै एकै ठाउँमा बनाउन लागेका उनीहरुले पहिले फोरमले कार्यक्रम गरिसक्ने र त्यसपछि माओवादीले आफ्नो कार्यक्रम गर्ने समझदारीसहित केही मिटरको दुरीमा आआफ्नै मञ्च निर्माण गरेका थिए ।

तर मञ्च निर्माणको क्षणभरमै फोरमका एकहुल कार्यकर्ता पसेर माओवादीको मञ्च भताभुंग पारिदिए । फोरमको उक्त कार्यबाट आगो हुन पुगेका माओवादी कार्यकर्ताहरुले पनि फोरमको मञ्चमा विनाशलिला मच्चाए । ठीक यसैबेला राइस मिल मैदानको वरिपरि घरका छतहरुमा पहिलेदेखि लुकेर बसेका फोरम कार्यकर्ता र उनीहरुका साथमा रहेका ‘सार्प शुटर’ले माओवादी कार्यकर्ताहरुमाथि एसएमजी, राइफल, अटोब्रस तथा एके–४७ र हाते ग्रेनेड आदि हतियारहरुले निशाना दाग्दै आक्रमण सुरु गरे ।

राइस मिलको मैदानमा लासको चाङ लागेपछि त्यहाँबाट भागेका माओवादी कार्यकर्ताहरुलाई खोज्दै र लखेट्दै फोरमका कार्यकर्ताहरुको सुराकीमा ती सार्प शुटरहरुले अन्य दुई ठाउँमा पुगी लुकेर बसिहेका माओवादी कार्यकर्ताहरुको विभत्स तरिकाले सामुहिक हत्या गर्नथाले । प्रहरीले यसलाई टुलुटुलु हेरेर माओवादीसँगको रिस र पूर्वाग्रहको बदला लियो ।

दर्जनौ घाइते भएका बाहेक ५ जना कार्यकर्ता राइसमिल मैदानमै ढले । घाइते प्रतिमा खातुनसहित अन्य महिलालाई फोरमका दर्जनौ कार्यकर्ताहरुले बलात्कार गरी भाला र बर्छाले रोप्दै छट्पटाइरहेको अवस्थामा जीउँदै आगो लगाएर हत्या गरे ।

यो रणमैदानको पाँच किलोमिटर टाढा रहेको हजमनिया बोधिमाई मन्दिरमा भएको अर्को सामूहिक हत्याकाण्डमा मोर्चाका कार्यकर्ता तथा भारतीय पेशेवर हत्याराले भागिरहेका माओवादी कार्यकर्ताहरुलाई वाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीको बली दिने’ भन्दै थप एघार जनाको नृशंस सामूहिक हत्या गरे ।

उक्त सामूहिक हत्यापूर्व कब्जामा लिइएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाउँदै जीउँदै आगो लगाएर मारेका थिए । बलात्कृत महिलाका स्तन काटिँदा ‘आफूहरु बिहे गरेर उनीहरुसँगै बस्न तयार भएको’ भन्दै ‘आफूहरुलाई यस्तो चरम यातना नदिन’ अन्तिमसम्म अनुनयविनय गरेका थिए । तर ती सबै जीउँदै आगो लगाएर मारिए ।

यसैक्रममा गौर बजारमै रहेको एक गेष्ट हाउस नजिकै रहेको फुसको घरमा लुकी बसेकालाई मोर्चाका कार्यकर्ताले घरबाहिर थुती गोली हानेपछि घाइते अवस्थामा भाला, खुकुरी, ढुङ्गा, इट्टा, भाटा आदिले लगातार प्रहार गरी कुटीकुटी मारेका थिए ।

भाग्दैगर्दा निकै टाढाको घरमा शरण लिएर बसिरहेका माओवादी कार्यकर्ता रमाकान्त चौधरीलाई दर्जनौ फोरम कार्यकर्ताले घरबाट भगाएर लखेटी–लखेटी हत्यागरी बाँसको झाङमा फालिदिएका थिए । अन्य तीनजनाको नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मडलवाको चौरछेउ ढुंगा र इँटा प्रहार गरी हत्या गरिएको थियो ।

यसरी समग्र घटनाको प्रकृति हेर्दा मारिने माओवादीका कार्यकर्ताहरु सबै निशस्त्र थिए, प्रतिरोध कतै भएको थिएन । त्यसैले यो मुठभेड थिएन । हतियारको प्रयोग, कार्यक्रमस्थल सशस्त्र रुपमा घेराउ, ठाउँठाउँमा सशस्त्र घेराबन्दी, एम्बुस र दिनभर खोजीखोजी गरिएको हत्या प्रकरणले फोरमका कार्यकर्ता तथा भारतीय सशस्त्र हत्याराहरु योजनबद्ध रुपमा परिचालित थिए भन्ने प्रष्ट देखिन आउँछ ।

१३ वर्षअघिको यो सामूहिक हत्याकाण्डको छानबिन र सत्यतथ्य खोजीको माग अहिले भैरहेको छ । हालका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव यही विभत्स सामूहिक हत्यकाण्डमा तानिदै गएका छन् । उक्त नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादवलाई ठानिन्छ र उनका सहयोगीहरुमा बबन सिंह, ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भु साह, बलराम सिंह कँुवर, गणेशमान यादवलगायतका रहेको यसअघिका छानबिन आयोगका रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्