भोलि सरकारी वकिल सम्मेलन



काठमाडौं: नयाँ अपराधसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुँदैछ । ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराधसंहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ ।

 

२०७३ पुसमा पहिलो सम्मेलन भएको थियो। पहिलो सम्मेलनबाट पारित घोषणापत्रअनुसार महान्यायाधिवक्ता कार्यालय स्थापना दिवसका अवसरमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा ३ सय बढी सरकारी वकिलको सहभागिता रहने बताइएको छ। सम्मेलनमा पर्यवेक्षकको रुपमा न्यायपालिका, नेपाल प्रहरी, नेपाल बार, मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताको कार्यालयबाट विधिविज्ञान विज्ञ सहभागी हुनेछन्।

 

भदौ १ बाट लागू भएको मुलुकी अपराधसंहिताको कार्यान्वयन प्रभावकारी बनाई कानुनको शासन कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको नागरिकमा खवर छ ।

 

सम्मेलन सफल बनाउन महान्यायाधिवक्ताको संयोजकत्वमा दोस्रो राष्ट्रिय सम्मेलन मूल समारोह समिति गठन गरिएको छ । सहभागीलाई ५ वटा समूहमा बाँडेर कार्यपत्रमा छलफल गरिने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्