आज नेवार समुदायले योमरी पुन्ही मनाउँदै



काठमाडौं: नेवार समुदायले योमरी पुन्ही (पूर्णिमा) पर्व आज मनाउँदैछन्। यो पर्व धान्यपूर्णिमाको दिन मनाइन्छ । योमरी पुन्ही नजिकिँदै गर्दा नेवार समुदायमा यसको रौनक पनि बढेको छ ।  नेवारी भाषामा योमरीको अर्थ मनपर्ने रोटी हो । ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’ को अर्थ रोटी हो । यो पूर्णिमामा योमरी अर्थात् विशेष प्रकारको रोटी बनाएर खाने चलन छ ।

 

नेवार समुदायमा धेरै प्रकारको रोटी बनाइन्छन् । साधारणतया धेरैजसो रोटीहरू गोलो बनाउने गरिन्छ। तर, यो भिन्न प्रकारले बनाइन्छ ।  अरु रोटी गहुँको पिठोबाट बनाइन्छ। तर, योमरी चामलको पिठोबाट बन्छ। त्यसकारण यो मिठो हुन्छ। योमरी मंसिरमा काटेर ल्याएको नयाँ धानको पिठोले बनाइन्छ ।

 

चामलको पिठोमा उमालेको तातोपानी हालेर हातले मुछेर पिठोलाई डल्लो बनाइन्छ। त्यसपछि आवश्यकता अनुसार पिठोको सानोसानो डल्लोबाट योमरी बनाइन्छ। योमरी पछाडिको भाग चुच्चो हुन्छ ।  योमरीभित्र चाकु राखेर पकाइन्छ। पिठोबाट बनाएको योमरीलाई बाफबाट पकाइन्छ। यसलाई मःमः पकाउने भाडोमा राखेर बफाइन्छ ।

 

योमरीभित्र दुई थरी खाद्यवस्तु राखेर पकाउने चलन छ । देउतालाई चढाउने योमरीभित्र चामल राखिएको हुन्छ। यो सानो आकारको हुन्छ । मानिसले खाने योमरीभित्र चाकु राखेर पकाइन्छ । योमरी अरु बेला बनाइँदैन र खाइँदैन पनि। योमरी पूर्णिमाको दिन मात्र बनाइन्छ। अहिले योमरीभित्र चाकु मात्र नभई अरु पनि हालेर बनाइन्छ । जस्तै खुवा, मासु, तिल, घिउ इत्यादि राखेर बनाउने चलन छ ।

 

भक्तपुरका स्थानीय ८० वर्षीया रामप्यारी सुवालका अनुसार योमरी पुन्ही चार दिन मनाइन्छ । तर, पनि पहिलो एक दिन विशेष रूपमा मनाउने उनी सुनाउँछिन् । पूर्णिमाको पहिलो दिन नयाँ अन्न राखिएको भकारी एवं ढुकुटीमा योमरी राखेर पूजा गरिन्छ। योमरीलाई ढुकुटी तथा भकारीमा चढाउँदा धन सम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ ।

 

पहिलो दिन पूजा गरेर चढाएको योमरी चार दिनपछि ढुकुटीबाट निकाल्ने चलन छ। योमरी परिवारमा बाँडेर खाने चलन छ। यस दिन बिहे भइसकेका छोरीहरुलाई बोलाएर भोज खुवाउने चलन पनि छ ।  संस्कृतिविद् ओम धौभडेल योमरी पूर्णिमाका दिनदेखि दिन लामो हुने जनविश्वास रहेको बताउँछन् ।  योमरीको पछाडिको भाग जति धेरै चुच्चो भयो त्यति लामो दिन हुँदै जान्छ भने जनविश्वास रहेको उनी सुनाउँछन् । त्यसैले योमरी बनाउने बेलामा चुच्चो लामो बनाउने गरेको उनको भनाई रहेको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्