यी हुन् ककपिटबाहिरका कमान्डर



काठमाडौं: सुरक्षित हवाई यात्रामा पाइलटको भूमिकाबारे त सबैलाई थाहै छ । तर, पाइलटलाई नै निर्देशन दिएर हवाई यात्रा सुरक्षित बनाउने पात्रबारे धेरैलाई थाहा छैन । त्यस्ता पात्र हुन् एयर ट्राफिक कन्ट्रोलर (एटिसी) । एटिसीको अनुमतिविना हवाई उडान नै सम्भव हुँदैन ।

 

त्यसैले त हवाई उडानमा एटिसीलाई ककपिटबाहिरका कमान्डर भनिन्छ । जहाजको इन्जिन खोल्नेदेखि अफ गर्नेसम्मका प्रक्रियामा एटिसीको अनुमति लिनैपर्छ । एटिसीको निर्देशन उल्लंघन गर्नु दुर्घटनालाई निम्ता गर्नु हो ।

 

एटिसीको काम

पाइलटको निर्देशक हो, एटिसी । जहाजको इन्जिन स्टार्ट गर्दादेखि अफ गर्दासम्म पाइलटले हरेक सेकेन्ड एटिसीको अनुमति लिनुपर्छ । जस्तै : काठमाडौंबाट पोखरा जहाज उड्दै छ भने काठमाडौंको ग्राउन्ड कन्ट्रोलमा जहाजले स्टार्ट अप माग्छ ।

 

स्टार्ट मागेको जहाजलाई स्टार्ट अप दिने–नदिने ग्राउन्डका एटिसीले नै हेर्छ । अन्य जहाजहरू पोखराका लागि उडेका छन्–छैनन्, उड्ने क्रममा छन्–छैनन् लगायत बुझेर उडाउन सकिने स्थिति भए अप्रोच कन्ट्रोलमा जानकारी गराउँछन् । पोखराको मौसमलगायत सबै अवस्था ठीक रहेको जानकारी अप्रोच कन्ट्रोलबाट जानकारी आएपछि स्टार्ट अपका लागि एटिसीले अनुमति दिन्छ ।

 

ट्याक्सी वेबाट छुटेर रनवे छिर्नुअघि अर्को युनिटको ह्यान्डेलिङमा जान्छ । टावरबाट कन्ट्रोलरले टेकअप क्लियरेन्स दिन्छ । जहाज उडेर पाँच माइलको दूरीमा पुगेपछि टावरका एटिसीले एप्रोच कन्ट्रोलका एटिसीलाई जिम्मा दिन्छन् । विश्वमै उडानमा एयर कन्ट्रोलको नियम यही हो ।

 

जे होस् जुन–कुनै एरियामा उड्दा पनि त्यहाँ सेवा दिइरहेको एटिसीसँग पाइलट सम्पर्कमा रहनैपर्छ । एटिसीले बताएको निर्देशनअनुसार नै उड्नुपर्छ । एटिसीसँग सम्पर्क नभए जहाज हराएको मानिन्छ । यस्तो अवस्थामा पनि एटिसीले नै इमर्जेन्सी एक्टिभेसन गर्नुपर्छ । विशेष परिस्थितिमा वैकल्पिक रुटमा उड्नुप-यो भने पनि पाइलटले एटिसीसँग अनुमति लिनैपर्छ ।

 

एटिसी र पाइलटको भाषा संसारभर एउटै

पाइलट र एटिसीबीच हुने कुराकानी अरूले बुझ्न सक्दैन । उनीहरूले बोल्ने भाषा विशेष खालको हुन्छ, जुन पाइलट र एटिसीले मात्रै बुझ्छन् । जसलाई ‘एभिएसन इंग्लिस’ भनिन्छ । संसारभरका एटिसी र पाइलटबीच हुने भाषा एउटै हुन्छ । जसले गर्दा नेपालका एटिसी विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्छन् । विश्वको ९० भन्दा बढी देशले एटिसीमा स्वदेशी नागरिकलाई मात्रै लिने गरेका छन् । अर्थात् एटिसीमा विदेशी नागरिकले रोजगार पाउँदैनन् । संवेदनशील क्षेत्र भएकाले सुरक्षाको कारण यस्तो नीति अपनाइएको पाइन्छ ।

 

नेपालमा कति छन् एटिसी ?

अहिले नेपालभर करिब ३ सय एटिसी भए पनि २ सय ५० मात्रै अप्रेसन टावरमा कार्यरत छन् । त्रिभुवन विमानस्थलमा १ सय १८ एयर ट्राफिक कन्ट्रोलरको दरबन्दी छ । तर, अहिले ७१ जना मात्रै कार्यरत छन् । उनीहरूले आ–आफ्नो शाखाअनुसार जिम्मेवारी सम्हाल्छन् । एटिएस रिपोर्टिङ, अप्रोच कन्ट्रोल अफिस, एरिया कन्ट्रोल सेन्टर, डोमेस्टिक कम्युनिकेसन सेन्टरजस्ता शाखा छन् । ४७ एटिसीको दरबन्दी खाली भए पनि कम्तीमा थप ८० जना आवश्यक रहेको वरिष्ठ एटिसी उमेश पन्थीले बताए ।

 

कसरी बन्ने एटिसी ?

एटिसी बन्न चाहने व्यक्तिको शैक्षिक योग्यता कम्तीमा स्नातकसम्मको हुनुपर्छ । विज्ञान र इन्जिनियरिङ संकाय पढेकालाई विशेष ग्राह्यता दिइन्छ । व्यवस्थापन र मानविकी संकायका भए गणित र अंग्रेजी विषय लिएर पढेको हुनुपर्छ । शैक्षिक योग्यताबाहेक २१ वर्ष पूरा भएको र २६ वर्ष उमेर ननाघेको व्यक्तिले एटिसी तालिमका लागि आवेदन भर्न सक्छ ।

 

केही वर्षअघिसम्म एटिसीको आवेदन तथा परीक्षा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिन्थ्यो । तर, अहिले लोकसेवा आयोगको अनुमति र सहयोगमा आवेदन खुलाउँछ । लिखित परीक्षा लोकसेवाले नै लिन्छ । लिखितसँगै अन्तर्वार्ता, भाषिक परीक्षण, स्वास्थ्य परीक्षणलगायतबाट उत्तीर्ण भएकामध्ये मेरिट लिस्टमा परेकाहरू एटिसीको तालिममा सहभागी हुन पाउँछन् ।

 

एकपटकमा बढीमा १६ जना एटिसी तालिमका लागि छनोट गरिन्छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको सिभिल एभिएसन एकेडेमीबाट एक वर्ष तालिम लिएपछि एटिसी तयार हुन्छन् । तर, यस्ता एटिसी टावरमा काम गर्न मात्रै सक्षम हुन्छन् । जसले दुर्गम स्थानका एएफआइएस (एरोनोटिकल फ्लाइट इन्फर्मेसन सर्भिस स्टेसन)मा रहेर पाइलटलाई सुझाब मात्रै दिन्छन् । पछिल्लो समय जनशक्ति अभाव भएपछि ६ महिना मात्रै तालिम दिएर पनि यस्ता एटिसी तयार गर्न थालिएको नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्