बिग बासको डेब्यू खेलमा सन्दीपको दुई विकेट



काठमाडौं : अस्ट्रेलियन बिग बास लिगको आफ्नो पहिलो खेलमै नेपाली बलर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । शुक्रबारबाट सुरु भएको बिग बासको पहिलो खेलमा सन्दीपले आफ्नो टोली मेलबर्न स्टार्सका लागि दुई विकेट लिएका हुन् ।

 

चार ओभर बलिङ गरेका सन्दीपले ३६ रन दिएर महत्वपूर्ण दुई विकेट लिएका थिए । सिड्नी थन्डरका कप्तान सेन वाटसनलाई व्यक्तिगत २२ रनमा आउट गरेका सन्दीपले त्यसपछि क्यालम फर्गुसनको विकेट लिएका थिए ।

 

सन्दीपले प्रभावशाली प्रदर्शन गरे पनि उनको टोली डकवर्थ एन्ड लेविस नियमका आधारमा १५ रनले पराजित भयो । क्यानबेरास्थित मनुका ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिड्नीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

 

मेलबर्न स्टार्सले जवाफी ब्याटिङ सुरु गरेदेखि नै वर्षाले प्रभावित भएपछि खेल आठ ओभरमा छोट्याइएको थियो । आठ ओभरमा ९० रनको विजयी लक्ष्य पाएको मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

 

मेलबर्न स्टार्सका निक लार्किनले अविजित २८ रन बनाउँदा ड्वाइने ब्राभोले ११ र इभान गुल्बिसले १० रन बनाए । अन्य ब्याट्सम्यानले प्रभावशाली प्रदर्शन गर्न नसक्दा मेलबर्न स्टार्सले हार बेहोर्न बाध्य भयो । मेलबर्नलाई कम योगफलमा समेट्न सिड्नीका डानियल साम्सले तीन विकेट लिए । यसैगरी क्रिस ग्रिन, गुरिन्दर सिन्धु र नाथन म्याकएन्ड्रयुले एकएक विकेट लिएका थिए।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीका लागि ज्यासन सिङ्घाले अविजित ६३ रनको पाली खेले । यस्तै डानियल साम्सले ३४, सेन वाटसनले २२, जोस बटलरले २० र जोय रुटले १८ रन बनाए । मेलबर्नका लागि सन्दीपसँगै एडम जम्पाले  पनि दुई विकेट हात पारे । मेलबर्नले अब सोमबार होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्ने अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्