आमा हराइन्, ‘ममी’को बिगबिगी



काठमाडौं: किराना पसलका काका मुखमा पाइलट चुरोट च्यापेर चिनी जोख्दै थिए । एक बोरा चामल, पाँच किलो आलु, दुई किलो प्याज, दुई प्याकेट नुन, पाँच किलो चिउरा । मंगले दाई चामलबाहेकका सामान बोरामा मिलाएर राख्दै थिए ।

 

नागरिकतामा उसको नाम वीरबहादुर हो । मंगलबार जन्मेकाले आमाले रोग नलागोस् भन्दै मंगले भनिन् । गाउँका सबैले मंगले भनेर बोलाउन थाले । वीरबहादुर नाम नागरिकता र निर्वाचन परिचयपत्रमा मात्रै सिमित रह्यो । ‘अरू केके लानु छ भन है फेरि बिर्सेलास् ।’ काकाले यति के भनेका थिए । मंगलेकी छोरी नेप्टीले भनि ‘ड्याडी म एउटा चाउचाउ खान्छु ।’

 

नेप्टीको पनि खास नाम सुनिता हो । सलक्क परेको गोरो अनुहार । राम्री छे । नाक अलि नेप्टो भएकाले उसलाई पनि आमाले बोली फुट्नेबित्तिकै नेप्टी भनेर बोलाई । स्कुल भर्ना गर्दा सुनिता लेखेकी थिई । उसलाई स्कुलमा सबैले सुनिता भनेर चिन्छन् गाउँमा नेप्टी नै काफी छ ।

 

दुई वर्ष भयो नेप्टीले आमासँगै पर्म धाउन थालेकी । सात कक्षामा पढ्छे । अहिलेसम्म विषय लागेको छैन । सिजनअनुसारको घाँस, काट्ने, मकै गोड्ने, मोल बोक्ने सबै काम गर्छे । दिउँसो स्कुल गए पनि बिहान बेलुका घरको काम मज्जाले गर्ने नेप्टी बालाई ‘ड्याडी’ भन्छे भने आमालाई ‘ममी’ ।

 

बालाई ड्याडी र आमालाई ममी भन्नुपर्छ भनेर उसलाई अहिलेसम्म कसैले सिकाएको छैन । जेठी दिदीले आमा बा नै भन्छिन्, नेप्टी, उसकी बहिनी र भाइले बालाई ड्याडी र आमालाई ममी भन्न थाले । हजुरबालाई बा र हजुर आमालाई आमा भन्छे । मंगले दाइ मात्रै हैन । गाउँमा धेरै छन्, जो छोरा छोरीले ड्याडी भनेर बोलाउँदा हँ ? भन्छन् । आमा पनि ममी भन्दा मक्ख पर्छिन् । गाउँको चालचलन हेर्दा लाग्छ । बालाई ड्याडी र आमालाई ममी शब्द असाध्यै मन परेको छ । यदि शब्द राम्रो लागेको थिएन भने पक्कै ‘मलाई ड्याडी’ नभन भनेर अथ्र्याउँथे होला आफ्ना छोरा छोरीलाई ।

 

लुकेर, भागेर, दलाललाई अनगिन्ती पैसा खुवाएर विदेश पुगेपछि देशको चिन्ता गर्दै सामाजिक सञ्जालमा बर्बराउने हाम्रो संस्कार अहिले गाउँगाउँमा विस्तार हुने क्रममा छ । गाउँगाउँमा स्थापना भएका सरकारी स्कुलमा औपचारिकताका लागि पढाइने एकाध अंग्रेजी पुस्तक, डिसहोमको सर्वसुलभतासँगै टेलिभिजनमा देखिने विभिन्न टेलिभिजन कार्यक्रमको प्रभावले आमा र बालाई विस्थापित मात्रै गरेको छैन । ड्याडी र ममीलाई क्रमशः स्थापित गर्दै गएको छ ।

 

बालाई ड्याडी र आमालाई ममी भन्ने संस्कार सहरबाटै सुरु भएको हो । सहरीयाले जानेर गरे वा देखासिकीमा समीक्षा कसैले गरेन । अहिले गाउँमा हुर्किएको पुस्ताले बालाई सिधै ड्याडी भन्न थाल्यो । आमा शब्दलाई बृहत् नेपाली शब्दकोशमा यसरी व्याख्या गरिएको छ । आमा—आफुलाई जन्म दिने स्त्री, जननी, माता ।

 

ड्याडी र ममीको अर्थ शब्दकोशमा भेटिँदैन । अहिलेसम्म न बाबुआमाले मलाई ड्याडी ममी नभन भने न त स्कुल पढाउने शिक्षकले नै । कतिपय संस्कृत पढेका विद्वानले समेत आफ्ना छोराछोरीलाई आमालाई ममी नभन भनेर सिकाउन सकेनन् ।

 

नेप्टी त एउटी प्रतिनिधि पात्र मात्रै हो । उसका धेरै साथीहरू उसकै शैलीमा सम्बोधन गर्छन् । डिसहोमको रमाइलो च्यानलवाट प्रसारण हुने आनन्दी र जडौरीका फ्यान नेप्टी प्रायः कमेडी सिरियल छुटाउँदिन् । युट्युबमा अपलोड हुने कुनै पनि नेपाली फिल्मको पहिलो दर्शक हुन् नेप्टी र उनका साथीहरू । नेपालका धेरै गाउँमा अहिले पनि एनटीसीले राम्रो काम गर्दैन । जब फोन नै राम्रो सुनिँदैन भने इन्टरनेट परको कुरा । एनसेलले उपलब्ध गराउने प्याकले फिल्मका पारखीलाई निकै सजिलो बनाइदिएको छ ।  ध्रुव लम्साल/ राजधानीवाट ।

प्रतिक्रिया दिनुहोस्