इपीएल फाइनल आज, भैरहवा र ललितपुरबीच उपाधि भिडन्त



काठमाडौं: एभरेष्ट प्रिमियर लिग (इपीएल) तेस्रो संकरणको उपाधिको लागि आज भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । खेल आज दिउँसो १२ : ३० बजेबाट टियू क्रिकेट मैदानमा हुनेछ ।

 

शरद भेष्वाकरको टिम भैरहवा र ज्ञानेन्द्र मल्लले कप्तानीमा रहेको ललितपुर पहिलो उपाधि चुम्ने सपना सहित मैदान उत्रिने छन् । शरद घरेलु फ्रेन्चाइज क्रिकेटमा लगातार फाइनल खेल्दै आइरहेका छन् भने ज्ञानेन्द्र पहिलो उपाधिको खोजीमा छन् ।

 

समुह चरणको खेलमा ललितपुरले भैरहवालाई ६ विकेटले हराएको थियो । क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा स्थान पक्का गरेको हो । एलिमिनेटरमा चितवनलाई ४ र काठमाडौंलाई क्वालिफायरमा ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थान बनायो ।

 

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुरले त्यसयता हारेको छैन । अर्थात लगातर चार खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर क्वालिफायर हुँदै फाइनल यात्रा तय गरेको हो । दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दा ललितपुरले तेस्रो खेलमा पोखरा राइनोजलाई ८ विकेट र चौथो खेलमा काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

 

 

पाँचौ खेलमा भैरहवालाई ६ विकेटले पराजित गर्यो । ललितपुरका तीनै विदेशी खेलाडी गौरव तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान ज्ञानेन्द मल्ल, राशिद खान, पवन सर्राफ, योगेन्द्रसिंह कार्की र ललितनारायण राजवंशी पनि ललितपुरका महत्त्वपूर्ण खेलाडी हुन् ।

 

पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको भैरहवाले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हरायो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवा प्ले अफमा पुग्ने पहिलो टिम बन्यो तर चौथो खेलमा काठमाडौंसँग ७ र पाँचौ ललितपुरसँग ६ विकेटले पराजित हुन पुग्यो । रायन टेन डेस्काटे, रविइन्दर सिंह, मोहम्मद नविद, युवा खेलाडी कुशल मल्ल र रोहित कुमार पौडेल भैरहवाका मुख्य खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्