पर्यटन मन्त्रालयको पुँजीगतखर्च ९ प्रतिशत मात्रै



काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिकमा जम्मा ९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । यस अवधिमा थालिएका पूर्वाधार निर्माण एवं राष्ट्रिय गौरवका आयोजनामा कामको प्रगति भने सन्तोषजनक नै भएको मन्त्रालयले जनाएको छ ।

 

चालू आवको बितेका प्रथम चौमासिक बजेटमध्ये पुँजीगततर्फ ९ दशमलव १७ र वित्तीय ६९ दशमलव ६९ गरी जम्मा कुल खर्च ६९ दशमलव ११ प्रतिशत रहेको सो मन्त्रालयले जनाएको छ ।

 

यसैगरी, मन्त्रालयले चालू आवका लागि २३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा प्रथम चौमासिकका लागि ६ अर्ब ३४ करोड ६७ लाख छुट्याइएको थियो । मन्त्रालयअन्तर्गत विकासका १५ र साधरणतर्फ १४ गरी २९ आयोजना सञ्चालनमा रहेका छन् । मन्त्रालयले प्रगति सन्तोषजनक बताए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने अझै अपेक्षाकृत रूपमा प्रगति नभएको बताए ।

 

मन्त्रालयद्वारा शुक्रबार आयोजित समीक्षा बैठकमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले चालू आवका लागि बजेट छिटो ल्याउँदा पनि पुँजीगत खर्च गर्ने क्षमता र काम गर्ने प्रवृत्ति पुरानै शैलीको भएको टिप्पणी गरे । उनले अघिल्ला वर्षभन्दा यस वर्षको काम धेरै सन्तोषजनक देखिएको भए पनि अझै योजना, बजेट र अख्तियारी हुँदा पुँजीगत बजेट खर्च गर्न नसकेको आफू मातहतका विभिन्न निकाएका विभागीय प्रमुखलाई निर्धारित समयमै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिए ।

 

यसले समग्र रूपमा मन्त्रालयको क्षमतामाथि नै प्रश्न उठ्ने भन्दै उनले समय छ भन्दै समय घर्काउने र अन्तिम समयमा आएर हतारमा काम गर्ने प्रवृति सुधार्न सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिए ।

 

कतिपय काम समयभन्दा पहिले सकियो, समयमै सक्दै छौं भन्ने खालका रिपोर्ट आउनुप¥यो भन्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत केही राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक भएको पाइए पनि अझै अपेक्षाकृत रूपमा काम नभएकाले कर्मचारीलाई थप लगनशील हुने निर्देशन गरे । उनले प्रभावकारी योजना नभएकै कारण पहिलो चौमासिकमा पुँजीगत खर्च नबढेको दाबी गरे ।

 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मन्त्रालयअन्तर्गतका आयोजनाको पुँजीगत खर्च कमजोर देखिएको भन्दै सञ्चालित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए । उनले पछिल्लो पर्यटक आवागमन संख्या सन्तोषजनक रहे पनि अबको दुई वर्षपछि २० लाख पर्यटक पु‍¥याउन चुनौतीपूर्ण रहेको भन्दै पर्यटकीय पूर्वाधार र प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

 

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बजेट र योजनाअनुसार काम नभएको भन्दै मातहतका निकायलाई आफ्नो कामलाई छिटो छरितो गर्न र कुनै समस्या परे भन्न आग्रह गरे । कुनै पनि बहानामा कामको गतिलाई कम गर्नुहुँदैन भन्दै उनले कुनै नीतिगत वा प्राविधिक समस्या देखिएका छन् भने त्यसमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । मन्त्रालयका योजना तथा मूल्यांकन महाशाखाकी सहसचिव नीता पोख्रेल अर्यालले मन्त्रालयद्वारा तयार पारिएको चालू आवको प्रथम चौमासिक प्रगति समीक्षाबारे जानकारी गराएकी राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्