क – कसले छाडे अमेरिकी राष्ट्रपति ट्रम्पको साथ ?



काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी, २०१७ मा सत्ता सम्हालेको दुई वर्ष पूरा हुन करिब महिना दिन बाँकी छ । ट्रम्प प्रशासनको यो छोटो अवधिमा राजीनामा दिने र हटाइएका अधिकारीहरूको सूची भने निकै लामो भइसकेको छ ।

 

यो सूचीमा पछिल्लोपटक थपिएका छन्, रक्षामन्त्री जेम्स म्याटिस । उनले सिरियामा चरमपन्थी इस्लामिक संगठन आईएसविरुद्ध युद्ध लड्न पठाएको सैनिक टोलीलाई फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणामा असहमति जनाउँदै पद छाड्ने निर्णय गरिरहँदा ट्रम्पको प्रशासनमाथि अर्को प्रश्न थपिएको छ, उनको कार्यकालमा कस्ता अधिकारी चाहिँ दीर्घकालनसम्म  टिक्लान् ?

 

सिरियाबाट सेना हटाउने ट्रम्पको निर्णय आएको एक दिनपछि नै म्याटिसको राजीनामा आउनुले यो निर्णयमा उनको असहमति प्रस्ट भएको छ । उनले आफ्नो राजीनामामा नै स्पष्ट रूपमा ट्रम्प प्रशासनको नीतिमाथि प्रश्न उठाएका छन् । म्याटिसले आफ्नो राजीनामा पत्रमा भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई आफ्नो विचार मिल्ने रक्षामन्त्री नियुक्त गर्ने अधिकार छ ।’

 

राष्ट्रपति ट्रम्पले पनि रक्षामन्त्री म्याटिसले पेन्टागनको जिम्मेवारी फेब्रुअरीमा छाड्ने ट्विटमार्फत सार्वजनिक गरेका छन् । ट्रम्पको प्रशासन ह्वाइट हाउसको उच्च तहका कर्मचारीको शृंखलाबद्ध राजीनामा र बर्खास्तीका कारण चर्चामा रहने गरेको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको १० दिनमा नै ओबामा प्रशासनले नियुक्त गरेर ट्रम्प प्रशासनमा कार्यवहाक महान्यायाधिवक्ताको जिम्मेवारी पाएकी स्याली येट्सलाई हटाएर सुरु भएको बर्खास्तीको शृखला रक्षामन्त्री म्याटिससम्म आइपुग्दा ५० भन्दा बढी पुगेको छ । म्याटिसको राजीनामा प्रकरणले ट्रम्प प्रशासनकै कतिपय आश्चर्यमा परेका छन् ।

 

म्याटिसको अडान

सिरियामा लामो समयदेखि अमेरिकी सेनाको उपस्थिति छ । सन् २०११ मा सिरियामा सरकारविरुद्ध सुरु भएको विद्रोह केही महिनापछि नै गृहयुद्धमा परिणत भयो । यो गृहयुद्धका क्रममा हालसम्म करिब ४ लाख मारिएका छन् भने लाखौं घाइते र शरणार्थीका रूपमा कष्टकर जीवन बिताइरहेका छन् ।

 

सिरियामा बसर अल असदको सरकार र विद्रोहीबीच गृहयुद्ध जारी रहेका बेला सिरिया र इराकको ठूलो भागमा सन् २०१४ देखि चरमपन्थी संगठन आईएसले कब्जा जमायो । सिरियामा बसर अल असदविरोधी विद्रोहीलाई सहयोग गरिरहेको अमेरिकाले आईएसविरुद्धको लडाइँका क्रममा सिरियामा ठूलो मात्रामा सेना तैनाथ गर्दै आएको छ ।

 

अहिले यिनै सेना अमेरिका फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयमा म्याटिस असन्तुष्ट भएका हुन् । यही असन्तुष्टि उनले आफ्नो राजीनामामा पनि उल्लेख गरेका छन् । बुधबार मात्रै ट्रम्पले सिरियाबाट करिब २ हजार अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए । उनले सेना फिर्ताको निर्णय गर्दा सिरियामा चरमपन्थी संगठन आईएस पराजित भएको उल्लेख गरेका छन् । तर, ट्रम्पको यो निर्णय उनकै मन्त्रिपरिषद्का महŒवपूर्ण सदस्यहरूले मन पराएका छैनन् भने सेना फिर्ताको निर्णयको अमेरिकाभित्र र बाहिर पनि विरोध भएको छ ।

 

जसले छाडे ट्रम्पको साथ

राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको दुई वर्षको अवधिमा उनलाई दर्जनौं सहयोगीले साथ छाडेका छन् भने कतिपय पदबाट हटाइएका छन् । रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिनुअघि सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार मीरा रिकार्डेललाई हटाइयो ।

 

त्यसअघि महान्यायाधिवक्ता जेफ सेसन्सले ट्रम्प प्रशासनमा जागिर गुमाएका थिए । ह्वाइटहाउसबाट हटाइनुअघि उनले सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपबारे छानबिनलाई लिएर ट्रम्पको आलोचनाको सामना गर्नुपरेको थियो । तर, ट्रम्पको कार्यकालमा ह्वाइटहाउसको जागिरबाट राजीनामा दिने र हटाइएका कर्मचारीहरको सूची निकै लामो भएको छ ।

 

रिक्स टिलरसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा विदेशमन्त्री रिक्स टिलरसनलाई पदबाट हटाएर सीआईएका निर्देशक माइक पोम्पेओलाई विदेशमन्त्रीमा नियुक्त गरे । गत १२ जुनमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको शिखर बैठकको विषयलाई लिएर टिलरसनलाई हटाएर ट्रम्पले पोम्पेओलाई नियुक्त गरेका थिए । टिलरसनले १ फेब्रअरी २०१७ देखि अमेरिकी विदेशमन्त्रीको भूमिका निभाएका थिए ।

 

जेम्स कोमी ट्रम्प प्रशासनबाट हटाइएका अर्का प्रमुख व्यक्ति हुन्, जेम्स कोमी । उनी अमेरिकाको संघीय जाँच ब्युरोका निर्देशक थिए । उनले सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अनुसन्धान सुरु गरेपछि ट्रम्पले हटाएका थिए । उनले नै सन् २०१६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको व्यक्तिगत इमेल प्रयोगकाण्डको पनि अनुसन्धान गरेका थिए । यसलाई दोस्रो वाटरगेट काण्डका रूपमा  लिइएको थियो ।

 

माइकल फ्लिनट्रम्प प्रशासनबाट हटाइएका अर्का प्रमुख व्यक्ति हुन्, राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा रहेका माइकल फ्लिन । फेब्रुअरी २०१७ मा उनले राजीनामा दिएका थिए । उनले रुसी हस्तक्षेपका विषयमा रोबर्ट मुलरले जारी राखेको अनुसन्धानलाई सहयोग गरिरहेका छन् ।

 

स्याली येट्स स्याली येट्स पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेकी सहायक महान्यायाधिवक्ता थिइन् । ट्रम्पले उनलाई महान्यायाधिवक्ताको जिम्मेवारी दिने आश्वासनसमेत दिएका थिए । तर, सत्तामा पुगेको पहिलो साता नै ट्रम्पले केही मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाउने निर्णयको आलोचना गरेपछि उनलाई हटाइएको हो । उनी त्यसबेला कार्यवहाक महान्यायाधिवक्ता थिइन् । उनले जेफ सेसन्सलाई सिनेटले अनुमोदन गर्नुअघिसम्म कार्यवहाक महान्यायाधिवक्ताको भूमिका निभाएकी थिइन् । उनी ओबामा प्रशासनमा पनि सहमहान्यायाधिवक्ताको जिम्मेवारीमा थिइन् ।

 

जेफ सेसन्स अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत ७ नोभेम्बरमा जेफ सेसन्सलाई पदबाट हटाएका थिए । अमेरिकी मध्यावधि निर्वाचनको एक दिनपछि उनालाई हटाएका हुन् ।

 

मीरा रिकार्डेल मीरा रिकार्डेल अमेरिकामा ट्रम्पको प्रशासनबाट जागिर गुमाउने प्रमुख व्यक्तिमध्ये एक हुन् । उनी अमेरिकाको पहिलो महिला डेपुटी सुरक्षा सल्लाकारसमेत हुन् । अफ्रिका भ्रमणका क्रममा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग असमझदारी बढेपछि उनले ह्वाइटहाउसको जागिर गुमाउनुपरेको हो । तर, उनले अर्को कुनै जिम्मेवारी पाउने अपेक्षा गरिएको छ ।

 

निकी हेली निकी हेली पनि ट्रम्प प्रशासनले दिएको जिम्मेवारीबाट हट्ने घोषणा गरिसकेकी छन् । उनलाई ट्रम्पले राष्ट्रसंघका लागि अमेरिकी राजदूतका रूपमा नियुक्त गरेका थिए । उनले ९ अक्टोबरमा आश्चर्यजनक रूपमा अमेरिकी राजदूतको जिम्मेवारी छाड्ने घोषणा गरेकी थिइन् । उनले यसै वर्षको अन्त्यबाट लागू हुनेगरी सो पद छाडेकी हुन् । उल्लिखित नाम ट्रम्प प्रशासन छाड्ने केही प्रतिनिधिपात्र मात्रै हुन् । तर, ट्रम्पले सत्ता सम्हालेको करिब दुई वर्षको अवधिमा ५० भन्दा बढीले ट्रम्प प्रशासन छाडिसकेका छन् । राजधानी दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्