नेकपाकै नेताहरु भन्छन्- सरकार दलालले चलाए



काठमाडौं: एक सातादेखि जारी नेकपाको स्थायी समिति बैठकमा सरकार ‘दलाल पुँजीपति’ ले चलाएजस्तो देखिएको भन्दै नेतृत्वमाथि प्रश्न उठेको छ । सरकार र पार्टी नेतृत्वको व्यापक आलोचना भइरहेको बैठकमा शुक्रबार नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले भ्रष्टाचार रोक्नुपर्नेमा उल्टै दलाल पुँजीपतिले प्रयोग गरेजस्तो देखिएको आरोप लगाए ।

 

‘कम्युनिस्ट सरकार बनेपछि सबैभन्दा पहिले दलाल, नोकरशाही पुँजीवादी थरथर कामेको हुनुपथ्र्यो । भ्रष्टाचार नियन्त्रणमा आएको देखिनुपर्ने थियो, त्यही भएन,’ नेता श्रेष्ठले भने, ‘बरु नेताहरू नै दलाल नोकरशाही पुँजीवादको वरिपरि भएजस्तो, दलाल नोकरशाही पुँजीपतिले प्रयोग गरेजस्तो अवस्था देखा परेको छ ।’

 

उनले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्ति र भ्रष्टाचार अन्त्यको सरकारका कुरा विरोधाभासपूर्ण रहेको तर्क गरे । ‘दिगम्बर झा जस्ताको नियुक्ति हुन्छ, गोविन्द केसीले उठाएका विषयमा २५ दिनसम्म चुप लागेर बसिन्छ, सुरुमै समाधान गरौं भन्दा सुनिँदैन अनि पार्टी बदनाम भएपछि सम्झौता गरिन्छ,’श्रेष्ठले भने, ‘यस्ता कमजोरी भएका छन् सच्याउनुपर्छ ।’

 

उनले अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमा कतै आत्मालोचना नगरिएकामा आपत्ति जनाए । सरकार र पार्टी सञ्चालनमा कहीं कतै कमजोरी नभएजस्तो गरी प्रतिवेदन आउनु गलत भएको श्रेष्ठको भनाइ थियो ।

 

‘आत्मालोचना भन्ने नै छैन । यस्तो नि हुन्छ ? आत्मालोचना गर्नु, आत्मनिन्दा हुन्छ भन्नु गलत हो,’ श्रेष्ठले बैठकमा भने, ‘सामन्ती सोच र संस्कृतिले म परमेश्वरको प्रतिनिधि हो भन्छ । अर्कोले आलोचना गर्नुहुन्न भन्छ । पुँजीवादीले आलोचना गर्न दिन्छ तर आफ्नो कुरा आफैं लागू गर्छ । तर कम्युनिस्ट र समाजवादीले आत्मालोचना गर्नुपर्छ र त्यसबाट रूपान्तरण हुँदै जानुपर्छ ।’

 

उनले आलोचना गर्नेलाई सहनै नसक्ने प्रवृत्ति हाबी भएको पनि बताए । पार्टी सञ्चालन सामूहिक नेतृत्वमा हुनुपर्ने माग पनि उनले गरेका छन् । अध्यक्षद्वयको प्रतिवेदनमा पार्टीको राजनीतिक कार्यक्रम पनि गलत ढंगले आएको भन्दै सच्याउन श्रेष्ठले माग गरेका छन् ।

 

‘जनताको जनवाद’ भन्ने प्रतिवेदनमा उल्लेख छ । अहिले समाजवादी खालको कार्यक्रम हुनुपर्नेमा प्रतिवेदन अहिले भएका उपलब्धिभन्दा पछाडि फर्किने खालको भएको श्रेष्ठकोआरोप छ । शुक्रबारको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट, सुवास नेम्वाङलगायतका नेताले भने सरकार र पार्टी नेतृत्वको बचाउ गरेका थिए । नेता पोखरेलले अध्यक्षद्वयका प्रतिवेदन यसअघि पार्टीहरूमा आउनेजस्तै भएको बताए ।

 

उनले केही कमीकमजोरी हुन सक्ने तर आत्मभत्र्सना गर्न नसकिने धारणा राखेका थिए । यसअघिका बैठकमा केही स्थायी समिति सदस्यहरूले सरकार र पार्टी नेतृत्वमा बसेका व्यक्तिले कमीकमजोरी स्विकार्दै आत्मालोचना गर्नुपर्ने बताएका थिए । सरकार आफ्नो कार्यदिशामा सही ढुंगले नै अघि बढिरहेको भन्दै उनले धेरै आलोचनाले केही नहुने बताए । विगतका नौ महिने सरकार हुँदा पनि आलोचना हुने गरेको उदाहरण दिँदै पोखरेलले पछि परिणाम राम्रो आउने उल्लेख गरे ।

 

अर्का नेता नेम्वाङले राजनीतिक प्रतिवेदन मूल रूपमा ठीकै भएको बताए । तर उनले ‘हाम्रै नेतृत्वमा संविधान निर्माण भएको’ भन्ने विषय प्रतिवेदनमा उल्लेख हुनुपर्ने धारणा राखेका थिए । सरकार पनि सही दिशामै अघि बढिरहेको नेम्वाङको भनाइ थियो । तर उनले गत महिना सम्पन्न एसिया प्यासिफिक बैठकमा सरकार र संसद्को लोगो प्रयोग गरेको विषयमा भने असन्तुष्टि जनाए । उक्त लोगो प्रयोग गर्नु गलत भएको उनको धारणा थियो ।

 

नेताहरू मणि थापा, अमिक शेरचन, छविलाल विश्वकर्मालगायतले पार्टी एकताको काम छिटो टुंग्याउनुपर्ने, कम्युनिस्ट पार्टीका सरकारले जनमुखी काम गर्नुपर्ने धारणा राखेका कान्तिपुरमा खवर छ । त्यस्तै अध्यक्षद्वयका प्रतिवेदनमा रहेका कमजोरी सच्याउनुपर्ने र सदस्यका सुझावसमेत जोडेर पार्टीलाई गतिशील बनाउनुपर्ने बताए ।

 

नेकपा बैठकमा अधिकांश नेताहरूले बोलिसकेका छन् । शनिबार माधव नेपाल, झलनाथ खनाललगायत बाँकी नेताहरूले बोल्नेछन् । त्यसपछि सचिवालयको बैठकले छलफलमा आएका कुराको संश्लेषण गर्नेछ । त्यसपछि आइतबार अध्यक्षद्वय ओली र दाहालले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्