भालुको आक्रमणबाट दुई घाइते



बाजुरा: भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ४० वर्षीय बमबहादुर धामी र सोही गाउँपालिका–३ की १८ वर्षीया शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । 

 

शुक्रबार दिउँसो गाउँ नजिकैको जङ्गलमा दाउराघाँस गर्न गएका बेला घाइते दुवै जनालाई दुई भालुले आक्रमण गरेको बताएका छन् । आक्रमणमा घाइते भएका बमबहादुर र शान्तिले आफु बाँच्नको लागि भालुसँग प्रतिकार गर्दा दुवै भालुको मृत्यु भएको बताए ।

 

घाइते दुवैको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसअघि गत मङ्सिर ४ गते खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँमा पनि भालुको आक्रमणबाट दुई महिला गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्