पत्रकारमाथि बन्दकर्ताद्वारा आक्रमण



धनगढी : निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आह्वान गरिएको बन्दका क्रममा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका आन्दोलनकारीहरुले स्थानीय टेलिभिजन एसटीएस टेलिभिजनका कञ्चनपुर संवाददाता चन्द्र जोशीमाथि आक्रमण गरेका छन् ।

 

उनीहरुले संवाददाताको क्यामेरासमेत तोडफोड गरेका छन् । बन्दकर्ताद्वारा सरकारी गाडी तोडफोड गर्ने क्रममा भिडियो खिचिरहेका बेला आफूलाई उक्त भिडियो हटाउन भन्दै कुटपिट भएको पत्रकार जोशीले बताए ।

 

संघले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ । बन्दकर्ताले बा२झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग खुलेका छैनन् । यातायात सेवा पनि ठप्प छ । पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्