हलेसी बस दुर्घटना अपडेट : गम्भीर तीन जनालाई काठमाडौं पठाइयो



खोटाङ : दिक्तेलबाट धरना तर्फ जाँदै गरेको बस दुर्घटनामा परि घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको सञ्चारकर्मी हरिबोल आचार्यले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाँडामा आज (बुधबार) बिहान भएको बस दुर्घटनमा घाइते भएकालाई हेलिकोप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको हो ।

बसमा चालक, सहचालक गरी १५ जना सवार थिए । बस दुर्घटनामा परि १५ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सञ्चारकर्मी आचार्यले जानकारी दिए । त्यस्तै दुई जनाको अवस्था सामान्य रहेको उनले बताए ।

बस दुर्घटनामा गम्भीर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भई ओखलढुंगाको चिशखुगढी गाउँपालिका–२ पोखरेकी २३ वर्षीया कल्पना आचार्य घिमिरे, दिक्तेलका १९ वर्षीय प्रताप रिजाल र दिक्तेलकै २३ वर्षीय मिलन आचार्यलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात काठमाडौं पठाइएको घाइतेका आफन्तले जनाएका छन् ।

घाइते कल्पनाको रडले तिग्रा छेडिएको छ भने प्रतापको दाँत र सामान्य रुपमा जिब्रो काटिएको छ । यस्तै मिलनको दाँत, ढाड र खुट्टामा गम्भीर असर पुगेको छ ।

बसमा सवार यात्रुका अनुसार चालकले एक हातले झ्याल लगाउदै गाडी चलाउदा दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्