झोलुंगे पुलले सजिँदै कैलारी



फाइल तस्वीर

धनगढी : कैलालीको कैलारी गाउँपालिकास्थित नदीमा तीन वटा झोलुंगे पुल बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्ने पुलको कैलारी गाउँपालिकाको समन्वयमा डीपीआर तयार गरिएको छ ।

 

वडा नम्बर ३ स्थित मोहना नदीमा खोनपुर र शिवरत्नपुर जोड्ने, वडा नम्बर १ को कटैनी नदीमा र वडा नम्बर ६ स्थित घुरहा नदीमा बन्ने पुलको डीपीआरको काम सकिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । माटो परीक्षणको काम सकिएलगत्तै निर्माण थालिने पनि उनले बताए ।

कटैनी नदीमाथि बन्ने पुलको लम्बाई एक सय २० मिटर रहनेछ । यो पुल निर्माणको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । करिब ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको यस पुल एक वर्षभित्रै बनाइसक्ने गाउँपालिकाले लक्ष्य लिएको छ । 

यसैगरी वडा नम्बर ३ स्थित मोहना नदीमा बन्ने पुलको लम्बाइ साढे तीन सय मिटर रहने जनाइएको छ । यसको लागत तीनदेखि चार करोड अनुमान गरिएको छ । साथै तीन वर्षसम्म सकिने गाउँपालिकाले अनुमान गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो पुल निर्माणमा ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

यस्तै वडा नम्बर ६ स्थित घुरहा एक सय ४० मिटर लम्बाइ लामो पुल बन्नेछ । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६० लाख छुट्याएको छ । समय दुई वर्ष तोकिएको छ । 

चालु आर्थिक वर्षमा तीन वटै पुलको डीपीआर सकी बचत भएको रकमले निर्माण कार्य सुरु गरिने अध्यक्ष चौधरीले जनाए । कैलारी गाउँपालिकामा मात्रै यो आर्थिक वर्षमा सात वटा झोलुंगे पुल निर्माण हुने भएको छ । जसका लागि सबैको प्रक्रियासमेत अघि बढाइएको छ । गाउँपालिकाकै लागतमा वडा नम्बर २ लोहरपुर–टेढीस्थित कटैनी नदीमा एउटा झोलुंगे पुल बन्दै छ । 

 

नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पुल निर्माण कार्यले तीव्रता पाएको हो । पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्