फाेन गरेर बाेलाई युवकको हत्या



सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–५ का ३० वर्षीय मालिक महतोको हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । शनिबार बिहान उनको शव भेटिएको हो । घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

 

नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडन्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुलनजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

 

मोबाइलमा फोन आएपछि राति घरबाट बाहिर निस्केको महतो अबेरसम्म घर नफर्केको र मोबाइल अफ भएपछि घरपरिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीय अशोक सिंह कोइरीले बताए ।

मृतक महतो बाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

 

हत्यारा पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयले प्रहरीलाई शव उठाउन दिएका छैनन् ।  शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । मृतकका डेढ र चार वर्षका दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्