बल्ल घोषणा भयो रुपन्देही खुला दिसामुक्त



                                        खुला दिसामुक्त घोषणासभामा सहभागी तराईका युवती ।

भैरहवा : रुपन्देही जिल्ला विकासमात्र होइन, चेतनाका दृष्टिले पनि अगाडि आउँछ । यो जिल्ला सुगम पनि हो तर खुला दिसामुक्त घोषणा हुन भने यो जिल्लाले निकै लामो प्रतीक्षा गर्नुपर्याे । मुलकका ६० वटा जिल्ला खुला दिसामुक्त घोषित भइसकेपछि बल्ल यसको पालो आयो ।  प्रदेश ५ को राजधानीसमेत रहेको रुपन्देहीलाई खुला दिसामुक्त हुने साइत शुक्रबार मात्रै जुर्याे । 

शुक्रबार विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित ग्लोबल बौद्धिस्ट कन्फरेन्स हलमा कार्यक्रम आयोजना गरेर रुपन्देहीलाई खुला दिसामुक्त घोषणा गरियो । प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जिल्लालाई खुला दिसामुक्त घोषणा गरे । उनले लुम्बिनीमा खुला दिसामुक्त स्मारकको अनावरण पनि गरे । 

राजनीतिक परिवर्तनसँगै नागरिकमा जनचेतना जागृत भएको र उनीहरुको सपना र अपेक्षा पनि निकै बढेको बताउँदै मन्त्री चौधरीले थपे, ‘अब मुलुक चर्पीको पछि नलागी विकास र समृद्धिको अभियानको चरणमा प्रवेश गरेकाले सरकार गम्भीर भएर अगाडि बढेको छ ।’

प्रदेश एवं राज्यभरमा अन्य जिल्लाभन्दा रुपन्देही स्वास्थ्य, शिक्षा, उद्योग व्यापार, कृषि, पर्यटन एवं जनचेतना स्तरमा अग्रणी ठानिए पनि खुला दिसामुक्त हुन भने अरुभन्दा पछाडि पर्दा नरमाइलो महसुस भएको उनको टिप्पणी थियो । 

प्रदेशका १२ वटा जिल्लामध्ये खुला दिसामुक्त घोषणा अभियानमा प्युठान पहिलो र रुपन्देही ११औं मा परेका छन् । यसैगरी राज्यका ७७ जिल्लामध्ये ६१औं जिल्ला बनेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले जानकारी दिए । प्रदेश ५ मा खुला दिसामुक्त घाेषणा हुन कपिलवस्तु अझै बाँकी छ ।  

२०६४ सालदेखि खुला दिसामुक्त अभियानमा बानी पार्न लाखौं रकम खर्च हुँदै आएको छ । तर लक्ष्यअनुसारको प्रगति हुन नसक्दा अभियान चलाएको ११ वर्षमा पनि दिसा–पिसाब चर्पीमा गर्नुपर्छ भन्ने कुरामा अल्झिरहँदा विकास र समृद्धिमा पछाडि परेको जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्माले बताए । अब जिल्लाका सबै १६ वटैं स्थानीय तह खुला दिसामुक्त घोषित भइसकेकाले पूर्ण सरसफाइको अभियान छिटै सफल पार्नुपर्नेमा उनले जोड दिए । 

यसैगरी नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले धेरै चुनौती हुँदाहुँदै पनि जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको अभियानमा पुगिएको बताउँदै अब पूर्ण सरसफाइका लागि काम गर्न धेरै बाँकी रहेको धारणा व्यक्त गरे । 

नेपालमा स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देही नाका एवं बुद्धको जन्मभूमिमा खुला शौच गर्ने बानी रोक्नुपर्नेमा उनको जोड थियो । ‘बाहिर खुला ठाउँमा शौच गर्दा व्यक्ति, परिवार, टोल, गाउँ, गाउँपालिका र अन्त्यमा जिल्लाकै बेइज्जत भइरहेको छ’, उनले भने ।

 

अभियानलाई सफल पार्न शौचालय बनाउने हैसियत नभएका विपन्न दलितलाई स्थानीय तहले रिङ, पाइप, प्यान सिट र एकजना मिस्त्रीको ज्याला उपलब्ध गराएका थिए । जिल्लामा एक लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय निर्माण भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्