क्यानले पारससँग स्पष्टिकरण लिने,ज्ञानेन्द्रले कमाण्ड सम्हाल्ने



काठमाडौ : गत असोज २८ गते सामाजिक सञ्जाल मार्फत राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजिनामा दिएपछि रिक्त भएको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कार्यबाहक जिम्मेवारी दिईएको छ । त्यस्तै उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को निर्देशन अनुसार क्यानका अध्यक्ष, महासचिव र प्राविधिक समितिको छलफल पछि मल्ललाई कप्तानको जिम्मेवारी दिईएको महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।

सामाजिक सञ्जालबाट राजिनामा दिएपनि पारसले क्यान समक्षा आधिकारिक रुपमा राजिनामा नदिएका कारण मल्ललाई हाल कार्यबाहक कप्तानको जिम्मेवारी दिईएको हो ।

क्यान श्रोतअनुसार टिमको कप्तान रहेका पारससँग क्यानले स्पष्टिकरण सोध्ने तयारी गरेको छ । क्यानसँग समन्वय नगरी सामाजिक सञ्जाल फेसबुकबाट राजिनामा घोषणा गरेका पारसले मनपरी गरेको ठहर गर्दै स्पष्टीकरण लिने बताईएको छ ।

त्यस्तै लिखित रुपमा राजिनामा पेश गर्न पनि सन्देश पारसलाई पठाईसकेको छ । वर्तमान नेतृत्वसँग ट्युनिङ नमिल्दा राजिनामा दिएका पारसले आफ्नो उत्तराधिकारीका रुपमा कप्तानको जिम्मेवारी सम्हाल्दै गरेका ज्ञानेन्द्रलाई सामाजिक सञ्जालमार्फत नै बधाई दिएका छन् ।

पारसले आफ्नो फेसबुक मार्फत भनेका छन् – सबैभन्दा योग्य व्यक्ति राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्ति भएकोमा बधाई छ । उनको नेतृत्वमा हामीले नयाँ उचाई छुनेमा म विश्वस्त छु ।

अध्यक्षमा नियुक्त भएपछि ज्ञानेन्द्रले क्यान पदाधिकारी, खेलाडी र प्रशिक्षक सँगसँगै मिलेर क्रिकेटको विकास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्