न्यायका लागि भाैंतारिँदै प्रहरीकै परिवार



                                                         प्रहरी हबलदार रमेशकुमार थापा ।

सुर्खेत : प्रहरी परिवारले नै न्यायका लागि गुहार माग्नुपर्ने अवस्था आएको छ । संगठनभित्रकै सदस्यको हत्या हुँदा पनि प्रहरीले नै लामो समयसम्म अनुसन्धान गर्न नमानेको आरोप लगाई प्रहरी परिवारले न्यायका लागि सार्वजनिक रुपमा गुहार मागेको हो । 

दैलेख नारायण नगरपालिका‐८ तर्ताङका भूपाल थापाले आफ्ना छोराको हत्यामा संलग्नको खोजी र कारबाही प्रक्रियामा ल्याउन प्रहरी नै निष्क्रिय भएकाले न्यायका लागि पहल थाल्न अपिल गरेका छन् । उनका छोरा ३४ वर्षीय रमेशकुमार थापा प्रहरी हबलदार पदमा कार्यरत थिए ।

 

रमेश गत जेठ २३ गते सल्यान जिल्लाको शारदा नगरपालिका‐५ सिराचौर जंगलमा मृत भेटिएका थिए । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत रमेश ससुराली जाने भन्दै हिँडेकोमा तीन दिनपछि जंगलमा मृत भेटिएका हुन् । 

छोरा मृत अवस्थामा भेटिएको खबर पाएपछि आश्चर्यमा परेका भूपालले जेठ २४ गते दैलेख ल्याइएको रमेशको शवमा शरीरभरि घाउचोट र निलडाम देखेपछि हत्या आशंकामा अनुन्धान गर्न माग गरेका थिए । दोषीको खोजीका लागि पटकपटक गरेको आग्रहको सुनुवाइ नभएको उनले बताए । 

‘जेठ २० गते ड्युटी सकेर ससुराली जान्छु भनेर हिँडेको छोराको तीन दिनपछि शव फेला पर्याे । प्रहरीकै मिलेमतोमा घटना भएको आशंका छ’, भूपालले भने । जाहेरी दिँदा समेत दर्ता गर्न नमानेकाले प्रहरीकै संलग्नता हुन सक्ने उनको भनाइ छ । छोराको काजकिरिया सकेर असार ७ गते प्रहरी कार्यालय सल्यान पुगेर जाहेरी दिँदा प्रहरीले लिन नमानी उल्टै दुव्यर्वहार गरी फर्काएको भूपालले बताए । 

‘चारपटकसम्म सल्यान पुगें तर त्यहाँका प्रहरी अधिकारीले उल्टै मलाई हप्काएर फिर्ता पठाउने गरे’, उनले भने, ‘आज प्रहरीकै हत्या हुँदा न्याय दिन अन्कनाउने प्रहरी जनताको सुरक्षामा निष्पक्ष छ भनेर कसरी विश्वास गरौं ।’ 

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत विकले पटकपटक एउटै मात्र कुरा लिएर आउने भन्दै हातपातसमेत गरेको उनको भनाइ छ । भूपालका अनुसार रमेशको मोबाइल, कपडालगायतको सामान अहिलेसम्म पनि फेला परेको छैन । प्रहरीले घटनाको सक्कली प्रमाण नष्ट गरी नक्कली प्रमाण बनाएको पीडित परिवारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्