एभरेस्ट प्रिमियर लिग : ललितपुरलाई उपाधि



काठमाडौं : एभरेस्ट प्रिमियर लिग तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिएट्सले जितेको छ । भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४१ रन मात्रै जोड्न सक्यो । भैरहवा यसपटकको संस्करणमा पनि उपविजेतामै सीमित भएको थियो ।

 

उपाधि विजेता ललितपुरले ट्रफीसँगै नगद २५ लाख प्राप्त गरेको छ भने भैरहवाले भने १० लाख रुपैयाँ पुरस्कारबापत प्राप्त गर्याे ।

 

त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १ सय ५६ रनको लक्ष्य दिएको थियो । ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रन बनाएका थिए ।

 

यस्तै सन्दीप जोराले २४ तथा गौरभ टोमारले २३ रन बनाए । अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भैरहवाका लागि कृष्ण कार्कीले ३ तथा मोहम्मद नाविद र रेन टेन डस्केटले २–२ विकेट लिए ।

 

जबाफी ब्याटिङमा उत्रिएको भैरहवाले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे पनि जितका लागि त्यो पर्याप्त हुन सकेन । भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ३४ रन बनाए । यस्तै रविइन्दर सिंहले २९ तथा कुशल मल्लले अविजित १६ रन बनाए । ललितपुरका ललित राजवंशीले ३ तथा योगेन्द्र सिंह कार्की र पवन सर्राफले २–२ विकेट लिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भैरहवाका रविइन्दर सिंहले मोटरसाइकल प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्