प्रदेश २ को १२९ स्थानीय तह प्रमुख उपप्रमुखको जनकपुरमा भेला



जनकपुरधाम : नेपाल सरकारले तय गरेको सुखी नेपाली, समृृद्ध नेपालको नारालाई सार्थक बनाउने अभियानसहित प्रदेश २ का १३६ मध्ये १२९ स्थानीय तहका मेयर तथा उपमेयरको भेला आज जनकपुरमा भएको छ । 

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीतादेवी मिश्रको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा सुशासन र विकाशको प्रत्याभूति दिन पालिकाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

 

प्रत्येक स्थानको विकासका लागि मेयर र उपमेयरले जनतालाई महसुस हुने किसिमले पारदर्शी तरिकाले काम गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिए ।

 

युनिभर्सल पिस फेडरेसन (यूपीएफ) र सांसदहरुको अन्तरराष्ट्रिय मञ्च (आईएपीपी) को संयुक्त आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्नेबारे अंतर्राष्ट्रिय विज्ञ अमेरिकी नागरिक रोवर्ट एस किटेलद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 

सम्मेलनबाट प्रदेशभित्र स्थानीय निकायका प्रमुखहरुले स्थानीय तहको विकास र समृद्धिका लागि नगरप्रमुखहरुको अन्तर्राष्ट्रिय संगठन (आईएएमपी) स्थापनाका निमित्त ऐक्यबद्धता जनाएका छन् । साथै घोषणापत्रसमेत जारी गर्ने बताइएको छ ।  

जनकपुरको होटल सीता शरणमा भएको एकदिने कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई निमन्त्रणा गरिएको थियो । प्रदेश २ का ८ जिल्ला ३३ मेयर, ४७ उपमेयर, २४ गाउँ अध्यक्ष ४४ गाउँ उपाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्