कर्णालीमा दलितमाथि चरम विभेदः दलितले पाउँदैनन् जन्ती र मलामी



कालिकोट : चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए ।

स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।

गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् ।

धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् ।

कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन ।

जन्ती र मलामी पाउनै मुस्किल

विभेदको चरम नमुना के होला? त्यो कालिकोटमा देख्न सकिन्छ । यहाँ दलितले जन्ती र मलामी समेत पाउँदैनन् । दलित भने अरुको जन्ती र मलामी जान्छन् । तर कथित उपल्लो जातिका व्यक्तिले पैँचो तिर्न जान्दैनन् । अरु जातिकाले दलितलाई बहिष्कार गर्दै आएका छन् ।

‘देशमा परिवर्तन आयो भन्छन् । हामीले चाहिँ थाहा पाएका छैनौँ,’ नरहरिनाथ गाँउपालिका लालुनिवासी रतनसिंह दर्जी भन्छन्, ‘गाउँमा छुवाछुत अहिले पनि उस्तै छ । हामी दलितले त शुभकार्यमा जन्ती र मर्दा मलामी नपाउने अवस्था छ ।’

नेपाल राष्ट्रिय दलित समाज कल्याणका जिल्ला संयोजक वीरबहादुर तिरुवा भन्छन्, ‘जिल्लामा छुवाछुत उस्तै छ । धार्मिक संस्कारका कारण पनि दलितले विभेद सहनु परेको छ । सार्वजनिक कार्यक्रममा पनि दलितको सहज पहुँच छैन । नेतृत्व स्वीकार गर्न पनि समस्या देखिएको छ।’

छुवाछुत अपराध हो भनेर सिकाउने थलो स्कुल हो । तर कर्णालीका स्कुलमै छुवाछुत छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका स्कुलमा छोइछिटो बारिन्छ । दलित विद्यार्थीले छोएको खाजा गैरदलितले नखाएपछि यहाँका विद्यालयले दिवा खाजा नै बदलेका छन् । आजकाे अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्