मनाङकाे तापक्रम माइनस १४ डिग्री, चिसोले खोला जम्यो



काठमाडौ : जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए । मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको देखेपछि उनी दंग परे । 

खोला बगेको डोब हेर्दै मर्स्याङ्दी किनारसम्म आँखा डुलाउँदा मर्स्याङ्दी छेउछाउसमेत उनले जमेको देखे । उनीसँगै अन्य प्रहरी अधिकृत तथा जवानसमेत गएर बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले । 

‘बग्दाबग्दैको पानी जमेको त पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो । झर्दाझर्दैको पानी जमेको देखेर पो अनौठो लाग्यो । अत्याधिक  चिसोका कारण जमेको पानी बिहान १० बजेसम्म पनि माथिबाट बग्न सकेको थिएन । भित्रभित्रै केही बगिरहेको थियो । बाहिरबाट हेर्दा सबै जमेको । मैले चाख लागेर फोटो पनि लिएँ’ । 

पानीले खोतलेर बनाएको पोखरीको पानी जमेकाले मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने उनले बताए । माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकी चिसोका कारण पुरै बरफले भरिएको थियो । 

स्थानीय मुखिया गोतामे (स्नोमङकी) का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो । ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ। हामीले गल–बेल्चाको सहयोगले फाल्यौं’ उनले भने । 

मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ । बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन् । चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ । 

सामान्यतस् शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ । मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्