राजधानीमै घर भएका सांसदले पनि लिए घरभाडा



डोटी : सुदूरपश्चिम प्रदेशका सांसदले अस्थायी राजधानी धनगढीमा घर भए पनि संसद् सचिवालयबाट घरभाडा लिइरहेको पाइएको छ । प्रदेश संसद् सचिवालयका अनुसार राजधानीमै घर भएका ११ सांसदले महिनैपिच्छे घरभाडाबापतको रकम लिइरहेका हुन् ।

कैलाली क्षेत्र ५ ‘ख’ बाट निर्वाचित कांग्रेसका डिल्लीराज पन्त, कांग्रेसकै समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र ३ बाट निर्वाचित नेकपाका वीरमान चौधरी, नेकपाकै समानुपातिक सांसद सुशीला बुढाथोकी र राजपाकी समानुपातिक सांसद मालामती रानाले राजधानीमै घर भएर पनि घरभाडा लिएका छन् ।

कैलाली क्षेत्र ४ ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र ५ को ‘क’ बाट निर्वाचित नेकपाकै नेपालु चौधरी र समानुपातिक सांसद चुनकुमारी चौधरी, कांग्रेसकी दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित कांग्रेसका भरतबहादुर खडका तथा कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेसकै देवराज पाठकले पनि ढाँटेर घरभाडा बुझिरहेका छन् ।

सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक सबै सांसदले घरभाडा बापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घरभाडाबापत रकम लिएको सुनेको तर आधिकारिक जानकारी नआएको बताए । ‘धनगढीमा घर भएकाले घरभाडा बुझ्दै छन् भन्ने हल्ला सुनेको छु,’ उनले भने, ‘अरू मलाई थाहा भएन ।’

घरभाडाबापत विपक्षी दलका नेताले २० हजार, सत्तापक्षको प्रमुख सचेतक, सभापति, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले १८ हजार तथा सांसदले १७ हजारका दरले मासिक भत्ता पाउने प्रावधान छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्